२७ फागुन ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ६१ एम्पुल, नुर्फिन १ सय ३८ एम्पुल र फेनारगम १ सय ६१ एम्पुल सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गौशाला बस्ने सिरहा लहान नगरपालिका- २३ गाढा घर भएका र काठमाडौं बत्तीसपुतली बस्ने सप्तरी रूपनी नगरपालिका-१ घर भएका २ जना १८ वर्षीय किशोर रहेका छन् । उक्त स्थानमा लागूऔषध बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
झापा, मेचीनगर नगरपालिका-१२ कालिझोडा डाँडागाँउबाट करिब २१ ग्राम ३८ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजु सहित सोही ठाउँस्थित मामा घर बस्ने मोरङ गोविन्दपुर-२ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलि र ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई मामा घरको कोठामा लागूऔषध नाप जोख गर्दै गरेको अवस्थामा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, केराबारी गाउँपालिका-७ मुगुटोलबाट करिब ६५ केजी अवैध लागूऔषध गाँजा सहित धनकुटा सहिदभूमि नगरपालिका-१ बस्ने ३१ वर्षीय दिपेश राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को.२३ प ३८६१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ वटा जेब्रा झोलामा लुकाई ल्याउदै गरेको उक्त लागूऔषध फेला पारी मोटरसाइकल चालक राईलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया