११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्ची पाँचपोखरीको सडक खण्डको बिजोग



फाइल तस्विर

२७ फागुन ०७८, सिन्धुपाल्चोक । मेलम्ची हुँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको केन्द्र यात्रा गर्ने जो कोही बाटोका कारण दिक्क मान्छन् । पाँचपोखरी गाउँपालिकाको माथिल्लो बस्तीमा पुग्दा जति आन्नन्द मिल्छ सडककै कारण उक्त स्थानमा पुग्न सास्ती खेप्नुपर्छ ।
भोताङका दलु पाख्रिन ट्रिपर चालक हुन् । उनी नियमित रुपमा उक्त सडकखण्ड जोखिम मोलेर यात्रा गर्छन् । बाटोको कारण खर्च बढ्नुका साथै सवारी बिग्रने समस्या हुने उनी बताउँछन् ।
मेलम्ची बजार पार गरेर खाल्डे खोला (पाँचपोखरी थाङपाल गाउँपालिकाको सिमाना ) सम्मको बाटोमा यात्रा गर्दा एक ट्रिप सामान लैजादा दुई ट्रिपको खर्च निस्कने उनी बताउँछन् । खाल्डाखुल्डीका कारण हरेक साधनको पत्ता जानेदेखि टुटफुट हुँदा व्यवसायी मर्कामा छन् ।
मेलम्ची , खाल्डे हुँदै तिपेनी सम्मको सडकमा साधन चलाउँदा दुर्घटनाको जोखिम र सास्ती भएको लागर्चेका स्थानीय सरोज धिताल बताउँछन् । ’सजिलो हुने हो भने ३० मिनेटमा मेलम्चीबाट पाँचपोखरीको सिमासम्म पुग्न सकिन्छ,’ उनले भने, ’तर दुई घण्टा बढी समय लाग्छ । त्रसित भएर यात्रा गर्नुपर्छ ।’
साघुरो सडक त्यसैमाथि पहिरो र बाढीले छिया–छिया बनाएकाले सवारी सञ्चालन गर्न समस्या हुने गरेको चालकहरु बताउँछन् । दुर्घटनाको जोखिम घटाउन पहिरो नियन्त्रण र सडक स्तरोन्निति गर्नुपर्ने स्थानीय बताउँछन् ।
वर्षातको समयमा त उक्त सडकखण्ड सवारी चल्न सक्ने अवस्थामा नै हुँदैनन् । जसका कारण बिरामीलाई उपचारका लागि लैजानसमेत हेलिकोप्टरको प्रयोग गर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको सीमानासम्म रहेको मेलम्ची नगरपालिका भित्र पर्ने ६ किलोमिटर सडकमा खाल्डाखुल्डी छ ।
२०७४ सालमा जनप्रतिनिधि आएपछि ४ किलोमिटर सडकको मेलम्ची नगरपालिकाले डिपिआर गरेर लगानी ब्यहोर्ने र थप सडक विभागले टेण्डर गर्ने सहमति बनेको थियो ।
तर, ५ वर्षको कार्यकाल पूरा हुँदै गर्दा मेलम्ची नगरपालिकाले सडकको टेन्डर गरेको छैन । मेलम्चीका मेयर डम्बर अर्यालले नागरिकको समस्यालाई वेवास्ता गरेको स्थानीयहरुले आरोप लगाउने गरेका छन् ।
मेलम्चीको सीमा काटेपछि भोग्नुपर्ने सास्ती पाँचपोखरीको सिमा सुरुभएपछि कम हुन्छ । १० किलोमिटर पाँचपोखरी सडक कालोपत्रे गर्ने गरी सडक विभागले टेण्डर निकालेको छ ।
सडकको काम अगाडि बढिरहँदा गत असार १ मा इन्द्रावती÷ मेलम्ची नदीमा आएको बाढीका कारण समस्या उत्पन्न भएको छ । बाढी र पहिरोका कारण सडक जोखिममा परेको छ ।
उत्तरी भेगमा चौतारा सांगाचोकगढी नगरपालिकाले र दक्षिणी भेगमा मेलम्ची नगरपालिकाले पाँचपोखरी सीमा जोड्ने सडक ब्यवस्थित नगरिदिँदा यो भेगका नागरिकले सास्ती खेप्दै आएका छन् ।
पाँचपोखरी थाङपालका स्थानीय वर्षात् सुरु हुनुभन्दा अघिबाटै सडक अवरुद्ध हुने कुराले चिन्तामा छन् । पाँचपोखरी थाङपाल गाउँपालिकासँग बैकल्पिक सडक नहुँदा वर्षातको समयमा थुप्रै चुनौती खेप्नुपर्छ । पानी पर्न थालेसँगै सडकमार्ग प्रयोग गरेर मेलम्ची पुग्न सकिने अवस्था हुँदैन । चनौटे पुल पुग्ने सडक मार्गनै यतिबेला ध्वस्त छ ।
पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामा चौतारा सांगाचोकगढी नगरपालिकाले गोब्रेको सिमानासम्म स्तरउन्नती गरेमा चौताराको सडक मार्ग प्रयोग गर्न सकिने बताउँछन् । समय छँदै सडकको विकल्प नसोचिए बिरामी पर्दापनि नागरिक हेलिकप्टरको भर पर्नु पर्ने अवस्था रहने उनी बताउँछन् ।

सिमाना जोडिए चौतारा सांगाचोकगढी नगरपालिका र मेलम्ची नगरपालिकासंग वर्षामा पर्ने सडक समस्या बारे छलफल भईरहेको अध्यक्ष लामा बताउँछन् ।
वर्षात लागेसँगै सडक सञ्जाल टुट्दा माथिल्लो भेगमा उपभोग्य सामाग्रीको अभाव हुने गरेको छ भने स्थानीयले महँगोमा सामान खरिद गर्नु पर्ने अवस्था बन्ने गरेको छ । त्यसैले स्थानीय सरकारहरुले समन्वय गरेर नागरिकलाई सहजता दिनुपर्ने स्थानीयहरु बताउँछन् ।
वर्खा लाग्छ, सडक सन्जाल टुट्छ अनि माथिल्लो भेगमा दैनिक उपभोग्य सामानको भाउले आकाश छुन्छ । विगतका वर्षमा पनि सडक संजाल टुटेपछि पाँचपोखरीका नागरीकले अनेकौ कष्ट भोगेका थिए ।

 

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ९ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।