७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चन्द्रागिरी केवलकार आधा घन्टाभन्दा बढी समय रोकिँदा कोलाहल मच्चियो




१६ चैत ०७८, काठमाडौं । चन्द्रागिरी केवलकार मंगलबार दिउँसो आधा घन्टाभन्दा बढी समय रोकिएको छ । केवलकार रोकिँदा ३६ जना यात्रारत थिए । लामो समयसम्म केवलकार भित्र थुनिँदा कोलाहल मच्चिएको थियो ।
घटना मंगलबार दिउँसो २ बजेको हो । चलिरहेको केवलकार अचानक रोकिएपछि यात्रुहरू केही समय पुनः सुचारु हुने आशामा बसेका थिए । पाँच, दश, पन्ध्र मिनेट हुँदै आधा घन्टासम्म सुचारु नभएपछि यात्रुहरू केवलकारबाटै चिच्चाएका थिए ।
केवलकारको तारमा झुन्डिएको डब्बामा लामो समयसम्म थुनिएर बस्दा यात्रुहरूबीच कोलाहल मच्चिएको थियो । त्यसपछि उद्धारका लागि थानकोटस्थित महानगरीय प्रहरी वृत्तका प्रहरीलाई बोलाइएको थियो ।
‘साढे दुई बजेतिरको घटना हो । केवलकार रोकियो भनेर खबर आयो । अनि हाम्रो टोली परिचालित भयो,’ प्रहरी निरीक्षक मनोज श्रेष्ठले भने, ‘३६ जना केवलकारको डब्बामा अड्किएका थिए । आधा घन्टा लगाएर उनीहरूको उद्धार गरियो ।’

उद्धार गरेर डब्बाबाट बाहिर निस्किँदा यात्रुहरू निकै अत्तालिएका थिए । कुनै अप्रिय घटना नहोस् भनेर पहिले नै त्यहाँ नेपाल प्रहरीको विपद् उद्धार टोलीसमेत खटाइएको थियो । ‘विपद् उद्धार टोलीलाई पनि तयारी अवस्थामा राखेका थियौं । डोरीमा गएर निकाल्नुपर्ला भनेर विपद् उद्धार टोली राखिएको थियो । तर त्यसो गर्नुपरेन,’ प्रहरी निरीक्षक श्रेष्ठले भने ।
विस्तारै डोरी तानेर केवलकारका डब्बालाई स्टेसनसम्म ल्याइएको थियो । केवलकार आधा घन्टाभन्दा बढी समय रोकिँदा चन्द्रागिरीको चुचुरोमा रहेको भालेश्वर महादेव मन्दिर वरपर चार सयको हाराहारीमा यात्रुहरू थिए । उनीहरू फर्कन पालो कुरेर बसेका थिए ।
यस विषयमा के भएको हो ? भनी चन्द्रागिरी हिल्सका प्रबन्ध निर्देशक अभिषेकविक्रम शाहसँग बुझ्दा उनले विद्युतमा समस्या आएका कारण केवलकार छोटो समयको लागि रोकिएको दाबी गरे । ‘केवलकारमा त्यस्तो ठूलो समस्या आएको होइन । विद्युतमा समस्या आएका कारण ५–६ मिनेट केवलकार रोएिको थियो । त्यतिबेला म पनि माथि नै अड्किएको थिएँ,’ शाहले न्युज कारखानासँग भने । उनले हाइभोल्टेजका कारण ट्रान्समिटर पड्किदा केवलकार रोकिएको बताए ।

शाहले भनेजस्तो मंगलबार चन्द्रागिरी क्षेत्रमा विद्युतमा कुनै समस्या नआएको नेपाल विद्युत प्राधिकरणको वलम्बुस्थित नो लाइट प्रमुख आशुतोष कर्णले न्युज कारखानालाई जानकारी दिए । ‘उनीहरू (चन्द्रागिरी)को आन्तरिक ट्रान्समिटर बिग्रेको होला, त्यो हामीलाई थाहा भएन । तर हाम्रो लाइनमा खराबी भएको छैन,’ कर्णले भने । मंगलबारकै घटना भए पनि यसबारे बुधबार मात्र खबर बाहिरिएको थियो ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ९ : ५१ बजे