
कोलम्बोका रेलवे स्टेशनमा प्लेटफर्ममा पर्खिरहेका छन स्थानीय । श्रीलंकाले टापुभर कर्फ्यू घोषणा गरेको छ । शनिबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म मुलुकले चरम ऊर्जा संकट र बढ्दो मुद्रास्फीतिको सामना गरिरहेको छ । शुक्रबार राष्ट्रपति गोटाबाया राजापाक्षेले असाधारण राजपत्र जारी गर्दै श्रीलंकामा तत्काल लागू हुने गरी सार्वजनिक आपतकाल घोषणा गरेका थिए।
राजापाक्षेले सार्वजनिक सुरक्षा, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनमा अत्यावश्यक आपूर्ति र सेवाको मर्मतका लागि आपतकाल घोषणा गरिएको बताए। लेन्स ः ताङ लु ÷सिन्ह्वा÷रासस
एजेन्सी
२० चैत ०७८, कोलम्बो । श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ ।
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनु पर्ने बताउँदै आएका छन् । सरकारले शुक्रबारदेखि नै आपतकाल घोषणा गरिसकेको छ ।
विगतमा, आपतकालीन आदेशले सेनालाई संदिग्धहरूलाई पक्राउ पूर्जी बिना पक्राउ गर्न र हिरासतमा राख्न अनुमति दिएको थियो । तर, प्रतिबन्धहरू प्रस्ट नभएको बताइन्छ । राष्ट्रपतिको आपतकालीन शक्तिहरू परिभाषित गर्ने नियमहरू जारी हुन बाँकी रहेको बताइएको छ ।
शुक्रबार दिउसो पसलहरु खुलेका र यातायात सामान्य रहेको थियो भने केही पेट्रोल पम्पमा प्रहरी तैनाथ थिए । सार्वजनिक व्यवस्थाको रक्षा गर्न र अत्यावश्यक आपूर्ति र सेवाहरू कायम राख्न आपतकालिन अवस्था आवश्यक रहेको राजापाक्षेले बताएका छन् ।








प्रतिक्रिया