१ वैशाख ०७९, काठमाडौं । राष्ट्रिय परिचय पत्रका लागि भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरले वैयक्तिक विवरण संकलन सुरु भएको छ । सोमबारबाट प्राविधिक परीक्षण सुरु गरिएको महानगरले जानकारी दिएको छ । यो काठमाडौँ स्थायी बसोबास गर्ने नागरिकका लागि हो ।
महानगरका अनुसार फारम भरेर वा अनलाइनमार्फत विवरण दिन सकिन्छ । अधिकारीहरुकाअनुसार अनलाइनबाट फारम भरेर पठाउँदा सेवा छिटो दिन सकिन्छ । फारममा भरिएको विवरण कम्प्युटरमा इन्ट्री गर्न र जाँच गर्न समय लाग्छ । जसको विवरण हो, उसैले भर्दा त्रुटी कम हुन्छ ।
विवरणका लागि सक्कल नागरिकतासहितका कागजात लिएर जानु पर्छ । यससँगै विवाह दर्ताको प्रमाण पत्र, यदि विवाह दर्ताको प्रमाण पत्र नभए श्रीमान् श्रीमतिको नाता खुल्ने सरकारी कागजपत्र चाहिन्छ । श्रीमान् श्रीमतिमध्ये कसैको मृत्यु भइसकेको भए मृत्युको विवरण खुल्ने कागज लिएर जानुपर्छ । बसाईँसराइ भएको भए बसाइँसराईको प्रमाण पत्र वा वडाको शिफारिस आवश्यक पर्छ । नागरिकतामा जन्म मिति खुलेको छैन भने जन्म मिति खुल्ने सरकारी कागज चाहिन्छ ।
यी कागजहरु सक्कलैप्रति लिएर जानुपर्छ । फोटोकपी वा मोवाइलबाट कागज देखाएर सेवा लिन सकिँर्दन । सेवा कार्यालय समयमा लिन सकिन्छ । सेवा लिन आफैँ जानुपर्छ ।
प्रतिक्रिया