१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्चीको पानी आइपुग्यो सुन्दरीजल



मेलाम्ची खानेपानीको सिन्धुपाल्चोकस्थित अम्बाथान प्रवेशद्वार । फाइल तस्विर

६ वैशाख ०७८, काठमाडौं । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ ।
सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले जानकारी दिएका छन् । पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो । च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो ।
गत वर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहर पखालेर पानी अहिले वाग्मतीमा छोडिएको छ । मेलम्चीको पानी छोडेपछि वाग्मतीको बहाव केही बढेको देखिन्छ । अहिले वाग्मती धमिलो पानी बढेको स्थानीयवासी रामप्रसाद पुडासैनीले बताए । गत वर्ष सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर मुहान क्षेत्रमा निर्माण गरिएको खानेपानीका संरचनामा क्षति पुगेको थियो । क्षति भएको संरचना पुनःनिर्माण गरी गत चैतमा सुरुङमा पानी हालिएको हो ।
मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ लिनुपर्ने उनले बताए । मेलम्चीको पानी सुन्दरीजल आएसँगै आज बिहान खानेपानी मन्त्री उमाकान्त चौधरीले अवलोकन गर्नुहुने कार्यक्रम रहेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : ३० बजे