२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा ७९ जनाको उम्मेदवारी फिर्ता, तीन जना निर्विरोध



भक्तपुरको सूर्यविनायक नगरपालिकामा उम्मेदवारी दर्ता गराउन प्राणी उद्यानस्थित निर्वाचन अधिकृतको कार्यालयमा नोमिनेशन गर्न लागेको भीड । तस्वीर : रमेश गिर\ रासस

१७ वैशाख ०७९, भक्तपुर । भक्तपुरको चार स्थानीय तहमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिने ७९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेससहितको गठबन्धन, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रबाट उम्मेदवारी दिएका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुला सदस्य र महिला सदस्य गरी कूल ७९ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
उनका अनुसार चाँगुनारायण नगरपालिकामा प्रमुखका उम्मेदवार दुई, उपप्रमुख एक, वडाध्यक्ष आठ, वडासदस्य नौ र महिला सदस्य दुई गरी २२ जना, भक्तपुर नगरपालिकामा वडाध्यक्ष सात र वडा सदस्य आठ गरी १५ जना, मध्यपुरथिमि नगरपालिकामा नगरप्रमुख एक, उपप्रमुख दुई, वडाध्यक्ष १३, वडा सदस्य चार र महिला सदस्य दुई गरी २२ जना र सूर्यविनायक नगरपालिकामा प्रमुखमा दुई, विभिन्न वडामा वडाध्यक्षमा ११, वडा सदस्य पाँच, महिला सदस्य एक र दलित महिला सदस्य एक गरी २० जनाले उम्मेदवारी फिर्ता लिएको कार्यालयका प्रमुख न्यौपानेले जानकारी दिए ।

त्यस्तै जिल्लाका ३८ वटा वडामध्ये आठवटामा दलित महिला उम्मेदवार नपाउँदा ती वडामा दलित महिला पद रिक्त हुन पुगेको छ । स्थानीय तह निर्वाचन ऐन–२०७३ ले स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष एक पद र वडामा निर्वाचित पाँचमध्ये एक खुलाबाट महिला र एक दलित महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि कतिपय वडामा उम्मेदवारी नपर्दा दलित महिलाको कोटा रिक्त रहेको प्रमुख न्यौपानेले जानकारी दिए ।
जिल्लाको भक्तपुर नगरकाको १० वटा वडामध्ये १, २, ३, ४, ७, ८ र ९ नं वडा गरी सातवटा र मध्यपुरथिमिको वडा नं ४ मा दलित उम्मेदवार नपाएपछि यी आठवटा वडामा दलित महिला सदस्यको पद नै रिक्त भएको छ । दलित महिलातर्फ तीनवटा वडामा भने एक जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध भएको उनले बताए । उनले नेमकिपाका उम्मेदवार भक्तपुर नगरपालिका–५ मा सरिना द्यौला (पोडे) र १० मा विष्णुमाया कामीलाई तथा नेपाली कांग्रेसले मध्यपुरथिमि ५ मा लक्ष्मी द्यौला निर्विरोध भएको उनले जानकारी दिए ।
जिल्लाका चार नगरका अन्य वडामा भने दलित महिला पदमा कांग्रेस, एमालेसहित केही दलका गरी ९० जनाको उम्मेदवारी परेको न्यौपानेले जानकारी दिए । सबै वडामा दलित बस्ती नभएका कारण उम्मेदवारी नपरेको दलहरूको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १० : २२ बजे