९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको महालक्ष्मीमा गठबन्धनका कट्टेल र एमालेका श्रेष्ठबीच प्रतिश्पर्धा




२५ वैशाख ०७९, ललितपुर । ललितपुरको महालक्ष्मी नगरमा गठबन्धनकातर्फबाट माओवादीका शिव कट्टेल र एमालेका हरिगोविन्द श्रेष्ठबीच तीब्र प्रतिश्पर्धा हुने देखिएको छ ।
पछिल्लो समय ललितपुरको महालक्ष्मी नगरपालिकामा चुनावी सरगर्मी तीव्र बढेको हो । २०७४ को स्थानीय निर्वाचनमा एमालेका रामेश्वर श्रेष्ठले मेयरमा जितेका थिए । श्रेष्ठले सात हजार ६४ मत ल्याई कांग्रेसका महेश खड्कालाई झिनो मतान्तरले पराजित गरेका थिए । खड्काले ६ हजार पाँच सय मत ल्याएका थिए ।
अहिले कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । मेयरमा माओवादी केन्द्रका शिवप्रसाद कट्टेल छन् । उपमेयर कांग्रेसले पाएको छ ।
एमाले विभाजनको असर महालक्ष्मी नगरपालिकामा बढी पर्ने अनुमान गरिएको छ । तर पनि प्रतिस्पर्धा सत्तारुढ गठबन्धनका उम्मेदवार कट्टेल र एमालेका हरिगोविन्द श्रेष्ठबीच नै हुने देखिन्छ ।
एमाले उम्मेदवार श्रेष्ठले ग्वार्कोदेखि लुभु–लामाटार र नगरभित्रका मुख्य सडकहरुमा हरियालीकरण गर्ने, ईन्टरनेट र बिजुलीका तारहरुलाई भूमिगत गर्न पहल गर्ने र भूमिगत नमिल्ने तारहरुलाई पनि कुनै स्थानमा ठूलो पाइपभित्र छिराएर सडकमाथिका आकाशलाई सुन्दर बनाउने जस्ता दर्जनौ एजेण्डा बोकेर चुनावी मैदानमा होकिएका छन् ।
मेयर उम्मेदवार कट्टेलले ग्वार्कोमा फ्लाइओभर निमार्णदेखि, स्वास्थ्य, शिक्षा, खानेपानी, ढल व्यवस्थापन, युवा स्वरोजगार, पर्यटन प्रवर्द्धनलगायतका एजेन्डा अघि सारेका छन् । ‘नगरबासीको इच्छाअनुसार नै नगरपालिकाको विकासका लागि मैले मेयरको उम्मेद्वारी दिएको हुँ । विद्यमान सम्पूर्ण समस्यालाई समाधान गर्ने र नगरलाई थप विकास गर्दै अगाडि बढ्ने मेरो योजना हो’,उनी भन्छन् ।
बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लामध्येको ललितपुरको उत्तरपूर्वमा महालक्ष्मी नगरपालिका पर्छ । साविकका पाँच गाविस इमाडोल, टीकाथली, सिद्धिपुर, लुभु र लामाटार समेटेर नगरपालिका घोषणा भएको हो ।
२०७८ को जनगणनाअनुसार महालक्ष्मी नगरपालिकामा ३६ हजारभन्दा बढी मतदाता छन् । २०६८ को जनगणनामा मतदाताको संख्या २५ हजार मात्र थियो । करिब २६ दशमलव ५ वर्ग किलोमिटरमा फैलिएको यो नगरपालिकाको पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका, दक्षिण र पश्चिममा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकासँगको सिमाना कर्मनाशा खोलाले छुट्याएको छ । यस्तै उत्तरमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकासँग यो नगरपालिकाको सीमा जोडिएको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गको रूपमा विकास हुँदै गरेको ग्वार्को–लुभु–लामाटार–मानेदोभान–पनौती हुँदै बिपी लोकमार्गको नेपालथोक जोड्ने सडक यस नगरपालिकाको मध्य भाग भएर गएका कारणले पनि नगरपालिकाको विकासको अधिक सम्भावना छ ।
नगरपालिकामा सबै पदमा गरेर दुई सय ३५ जनाको उम्मेदवारी परेको छ । जसमध्ये मेयरमा नौ र उपमेयरमा पाँचजना उम्मेदवार छन् । १० वटा वडाको नगरपालिकामा वडाध्यक्षमा ५६ जना, वडा सदस्यमा ८६ जना, महिला सदस्यमा ४५ जना र दलित महिला सदस्यमा ३२ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन उठेकी छन् । एमालेबाट उपमेयरमा विना सुवेदी केसी मैदानमा छिन् ।

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ९ : ०९ बजे