९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


वाग्मती सफाइ महाअभियान १० औँ वर्ष प्रवेश, तर अवस्था उस्तै छ अवस्था



ललितपुरको थापाथलीस्थित यूएन पार्कनजिकबाट देखिएको वागमती नदि ।तस्विर : ललितपुर खबर

६ जेठ ०७९, काठमाडौं । ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान नौ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको छ । तर वागमतीको अवस्था उस्तै रहेको भन्दै आम बाठमाडौंबासीले चिन्ता र चासो व्यक्त गरिरहेका छन्
विसं २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान सुरु भएको थियो । पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो ।
सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गरे । हालसम्म पनि उनको नेतृत्व जारी छ । त्यस बेलादेखि प्रत्येक हप्ता शनिबार बिहान गर्मीमा ७ बजेदेखि नौ बजेसम्म र जाडोमा ७ः३० बजेदेखि ९ः३० बजेसम्म वाग्मती नदीका विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको छ । महाअभियान अहिले ४७१ औँ हप्तामा चलिरहेको छ ।
वाग्मतीबाट हालसम्म २० हजार मेट्रिक टन फोहर व्यवस्थापन भएको छ । महाअभियानमा १५ लाखभन्दा बढीले नदीमै गएर फोहर उठाएका छन् । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान गरेका छन् । धेरै महाअभियानलाई सहयोग गरे पनि उद्देश्यअनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ ।
महाअभियान १० औँ वर्ष प्रवेश गरेकै बेला देशभरका ७ सय ५३ स्थानीय तहमा दोस्रो निर्वाचन सकिएर मत परिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ । महाअभियानका अभियानकर्मी किशोरसिंह शाही फोहर व्यवस्थापनमा स्थानीय सरकारको साथ अत्यावश्यक पर्ने बताउछन् ।
महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, वाग्मतीकै पनि विभिन्न स्थानमा सफाइ अभियान चलिरहेको छ । काठमाडौँ उपत्यकाका हाल गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ स्थानमा सफाइ भइरहेको छ ।
काठमाडौँ उपत्यका बाहिरका प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । काठमाडौँ उपत्यका बाहिर करिब १०९ स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । महाअभियानले देशव्यापीरुपमा सफाइ जागरण फैल्याउन सफल भएको छ । अभियानको सफलताका लागि स्थानीय सरकारले साथ दिनुपर्ने अभियानकर्मीको माग छ ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : ०१ बजे