
१९ जेठ ०७९, कपिलवबस्तु । कपिलवबस्तुकी १४ वर्षीया एक बालिकालाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रूपन्देहीको कन्चन गाउँपालिकाका ६ जना किशोरलाई पक्राउ गरेको छ।
गएको मंगलबार साँझ कपिलवस्तुको बाणगंगाकी १४ वर्षीया एक किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।
अपहरणपछि उनीहरुले किशोरीलाई रुपन्देहीको कन्चन गाउँपालिका ४ रुद्रपुर लगेर सामूहिक बलात्कार गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ।
बलात्कार आरोपमा पक्राउ पर्नेमा कन्चन गाउँपालिका ५ का निरज कार्की, वडा नम्बर ४ का राहुल सिन्जाली, सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र सौरभ थापा छन्। उनीहरु सबैको उमेर १९ वर्ष छ।
किशोरीका अभिभावकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए।
उनीहरुले किशोरीलाई स्थानीय बजारबाट अपहरण गरी कन्चन गाउँपालिका ४ मा रहेको लक्ष्मण रसाइलीको घरमा लगेर सामूहिक बलात्कार गरेका प्रहरीले जनाएको छ।







प्रतिक्रिया