९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


मकवानपुर गोल्डकप आजबाट



राजन कटुवाल

१९ जेठ ०७९, हेटौडा । स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ आजदेखि हेटौंडामा हुँदै छ । मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंंगशालामा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको संघका महासचिव छवि सुवेदीले जानकारी दिए । यही जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमरा र बाग्मती युवा क्लब सर्लाही भिड्नेछन् ।
प्रतियोगितामा नव जनजागृति र बाग्मतीसँगै विभागीय क्लबह नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो वर्षको भन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको छ । अघिल्लो वर्ष विजेताले १० र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गरेका थिए ।
प्रतियोगिताका लागि करिब एक करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिव सुवेदीले बताए । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतियोगिताको उद्घाटन गर्नेछन् । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन भएको थियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए ।
अघिल्लो वर्षझैं यस वर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कुल अफ म्यानेजमेण्टका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् ।
प्रतियोगिता हेर्नका लागि पहिलो चरणको खेलमा एक सय रुपैयाँ, सेमिफाइनलमा दुई सय रुपैयाँ र फाइनल खेलमा २५० रुपैयाँ टिकट मूल्य तोकिएको छ । न्युज कारखाना

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १० : ५५ बजे