४ असार ०७९, चाँगुनारायण । एउटै सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्ने एकजना पक्राउ परेका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षिय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको बताएको छ ।
पूर्व सञ्चालक अधिकारीले काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेशनलका सेयरधनी नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिई साढे तीन करोड ठगी गरेका हुन् ।
आफू ठगिएको भन्दै व्यवसायी तामाङको उजुरीपछि अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले बताएको छ ।
उनलाई बिहीबार थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रशासनबाट दुई दिन म्याद समेत थपिएको छ । यसअघि पटक–पटक विभिन्न मुद्दामा पक्राउ परेर पनि छुट्दै आएका अधिकारी यस पटक पनि आफूलाई ठगेर उम्किन्छन् कि भन्ने आशंका रहेको व्यवसायी तामाङ बताउँछन् ।
अधिकारीलाई सरकारी जग्गासमेत बैना गरी ५ करोड २० लाख रुपैयाँ ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ १३ गते अधिकारीको तस्बिरसहित घटना विवरण सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया