१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकाको अन्डरग्राउण्ड पार्किङभित्रको सोरुम, क्यान्टिन, पसल हटाइने



फाइल तस्विर

३ साउन ०७९, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको सवारी पार्किङलाई व्यवस्थित बनाउन अन्डरग्राउण्ड पार्किङभित्र रहेको डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत हटाउने भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त बनाउनका लागि सरोकारवाला निकायको सहयोगमा अन्डरग्राउण्डभित्रका संरचना हटाउन लागेको बताएको हो ।
पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले सवारी पार्किङ गर्ने अन्डरग्राउण्ड पार्किङभित्र डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत संरचना बनाउन उपत्यकाको ट्राफिक व्यवस्थापनमा असहजता आएको बताए । “सडकमा पार्किङ भएका सवारी साधन अण्डरग्राउण्डमा लगेर पार्किङ गर्दा सवारी व्यवस्थापनमा सहयोग पुग्नेछ, हामी सरोकारवाला निकायको सहयोगमा अन्डरग्राउण्ड पार्किङलाई व्यवस्थित गर्नेछौँ”, उनले भने ।
ट्राफिक प्रहरीले फुटपाथ व्यवस्थापन, ट्राफिक प्रहरीको व्यवहार तथा आचरण सुधारका लागि ट्राफिक प्रहरीलाई अनुशासनसम्बन्धी कक्षा, काठमाडौँ उपत्यकाभित्र भत्किएका खाल्डाखुल्डी मर्मत सम्भारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने, लेन अनुशासनलाई कडाइ गरिने तथा हर्न निषेधलाई थप कडाइ गर्ने प्रवक्ता दासले बताए ।
पत्रकार सम्मेलनमा कार्यालय प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले चक्रपथ वरपर जथाभावी रूपमा पार्किङ भएका सवारी साधनलाई सम्बन्धित निकायको सहकार्यमा व्यवस्थित गरिने बताए । “सवारी साधन बढ्दा र सडक नबढ्दा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा थप चुनौती बन्दै गएको छ, यसलाई व्यवस्थित गर्नका लागि ट्राफिक प्रहरी अहोरात्र खटिरहेको छ”, उनले भने ।
ट्राफिक कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप राम्रो बनाउनका लागि २२ स्थानमा २४ घण्टे ड्युटी, ३ सय २६ स्थानमा अस्थायी ड्युटी, ९३ स्थानमा पिक आवर ड्युटी, २६ मोबाइल कारबाही टोली, ४० स्थानमा दैनिक तीन घण्टा सवारी चेकिङ, ३६ स्थानमा जनपद प्रहरीसँग संयुक्त चेकिङको व्यवस्था मिलाएको छ ।
महाशाखाले आर्थिक वर्ष २०७८÷०७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख चार हजार ५ सय ९७ सवारी साधनलाई कारबाही गरी रु ३३ करोड १३ लाख ६८ हजार २ सय १८ राजस्व सङ्कलन गरेको छ ।
सोही आवमा ट्राफिक कार्यालयले लेन अनुशासन पालना नगर्ने १३ हजार ८ सय ९३, मादक पदार्थ सेवन गरी सवारी चलाउन ३३ हजार ५ सय ९०, रातो बत्तीको पालना नगर्ने १८ हजार ९सय ८४ र तीव्र गतिमा चलाउने १८ हजार ४ सय ४७ सवारी साधनलाई कारबाही गरेको छ । कार्यालयले अव्यवस्थितरूपमा फुटपाथमा पार्किङ गर्ने ४१ हजार ९सय ५ सवारी साधनलाई कारबाही गरेको छ ।
काठमाडौँ उपत्यकाभित्र भाडा ठगी गर्ने तथा अनियमितता गर्ने १० हजार २ सय ९५ सवारी साधनलाई कारबाही गरिएको प्रवक्ता दासले बताउनुभयो । सोही आवमा कार्यालयले प्रविधिको क्षेत्रमा विकास गरेको छ । पहिले ट्राफिक प्रहरी कार्यालयबाट मात्र लिने कागजपत्र लिने ठाउँ अहिले विस्तार गरी ३० स्थानबाट कागजपत्र लिने व्यवस्था मिलाएको हो ।

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ७ : ३९ बजे