५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा संस्कृतिकर्मीहरूको भेला



६ साउन ०७९, भक्तपुर । यस वर्षको सापारु (गाईजात्रा) पर्वलाई सभ्य र व्यवस्थितरूपले सम्पन्न गर्न भक्तपुर नगरपालिकाले तयारी थालेको छ । नगरपालिकाले बिहीबार नगरका दाफा, भजन, सांस्कृतिक टोलीका प्रतिनिधि र संस्कृतिकर्मीहरुसँग छलफल गर्दै सापारु पर्वको तयारी थालेको हो ।
विगतका वर्षमा कोरोना महामारीका कारण सापारु पर्वलाई औपचारिकतामा सीमित गरेको नगरपालिकाले यस वर्ष भव्य र सभ्यरूपमा सम्पन्न गर्न आवश्यक तयारी र छलफल सुरु गरेको नगरप्रमुख सुनिल प्रजापतिले बताए । उनले सापारुमा प्रदर्शन हुने परम्परागत र आधुनिक सांस्कृतिक गतिविधिहरु बढीभन्दा बढी प्रदर्शनीका लागि नगरबासीहरुलाई उत्साहित गर्नुपर्ने बताउँदै सापारुमा हाँस्य व्यङ्ग्यमार्फत जनतालाई राजनीतिक र सामाजिकरूपमा सचेत बनाउँदै लानुपर्नेमा जोड दिए ।
छलफलमा भक्तपुर नगरपालिका ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले जात्रा र संस्कृति परम्परादेखि चल्दै आएको हाम्रो सभ्यता भएको बताउँदै यसको संरक्षण र प्रवद्र्धनमा सिङ्गो नगर एकताबद्ध भई अगाडि बढन्पर्ने खाँचो औँल्याए । वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नजिकिँदै गरेको गठामुग चह्रे र सापारुमा आउनसक्ने विकृतिबारे सबैजना सचेत हुनुपर्ने बताए ।

छलफलमा विभिन्न विधाका संस्कृतिकर्मीहरूले संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्यहरू प्रशंसनीय रहेको, नयाँ कलाकारहरुलाई परम्परागत नाच सिकाउन सुरु गरिसकेको, भक्तपुर महोत्सव सञ्चालन गर्नुपर्ने, सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, घिन्ताङघिसी नाचमा देखिएका विकृति रोक्न नगरपालिकाले पहल गर्नुपर्ने, परम्परागत बाजाहरुको संरक्षण गर्नुपर्ने, लोप भएका संस्कृति तथा बाजागाजा उत्थान गर्न आर्थिक सहयोगको खाँचो रहेको, पर्यटकहरुलाई आकर्षण गर्न सांस्कृतिक प्रदर्शनी गर्नुपर्ने, गाईजात्रा रुटमा केबुल–तारहरुको उचित व्यवस्थापन गर्नुपर्नेलगायतका सुझावहरु दिएका थिए ।
भक्तपुरको गाईजात्रा अन्य सहरमा मनाइने गाईजात्राभन्दा पृथक रहेको छ । यहाँको गाईजात्रामा नाचिने घिन्ताङघिसी नाचले धेरैलाई आकर्षित गर्दछ । त्यसैले भक्तपुरको गाईजात्रा हेर्न काठमाडौँ, ललितपुर र उपत्यकाबाहिर बनेपा, धुलिखेल र पनौतीदेखि सर्वसाधारण आउने गर्दछ । यस वर्षको गाईजात्रा यही साउन २७ गते परेको छ ।
रासस

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : २६ बजे