१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरि नगरपालिकामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गरिने



१५ साउन ०७९, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ। यसबाट विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, फरक क्षमताका (अपांगता भएका) तथा विपन्नलाई सहज रूपमा स्वास्थ्य सेवा पाउन सहयोग पुग्ने जनाइएको छ।

नगरप्रमुख घनश्याम गिरीले भने, ‘यसै वर्षदेखि नगरका १५ वटै वडामा ‘घरदैलो नर्स सेवा’ थालनी हुने छ। ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी मधुमेह र उच्च रक्तचापको निःशुल्क औषधि उपलब्ध गराउने छौँ। सबै वडाका स्वास्थ्य संस्थाले ज्येष्ठ नागरिकलाई घरमै सेवा पुर्याउने छन्।’

स्वास्थ्य सेवा दिवसका उपलक्ष्यमा नगरपालिका, स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा उनले यसै वर्षदेखि चन्द्रागिरि–४ थानकोट प्राथमिक अस्पतालमा ‘डायलायसिस सेवा’ सुरुआत गरिन लागेको जानकारी दिए। पन्ध्र शय्याको सो अस्पतालले प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहित सेवा दिइरहेको छ।

साथै अस्पतालले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा फरक क्षमता ९अपांगता० भएकालाई निःशुल्क सेवा दिइरहेको छ।

‘डायलायसिस सेवा’ले मिर्गौलाका बिरामीलाई थप सहज हुने उनले बताए। नगर प्रमुख गिरीले भने, ‘स्वास्थ्यकर्मीको पारिश्रमिकमा एक रूपताका लागि यसै आर्थिक वर्षदेखि प्रक्रिया अगाडि बढाइनेछ।’

कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष एवं सामाजिक समितिका संयोजक घनश्याम लुइँटेलले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन नगरपालिकाले उच्च प्राथमिकता दिएको बताए। सो अवसरमा नगरपालिकाले १५ वटै वडाका स्वास्थ्य संस्थामा कार्यरत उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरेको थियो।

 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ६ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।