७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मदिरा पिएर स्कुल बस चलाउने थप दुईजना ड्राइभरलाई कारबाही



१९ साउन ०७९,काठमाडौं ।  मादक पदार्थ सेवन गरेर स्कुल बस चलाइरहेका दुईजना ड्राइभरलाई ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ। बिहीबार बिहान उपत्यकाका विभिन्न ठाउँमा गरिएको चेकजाँचका क्रममा मदिरा पिएर बस चलाउने सातजना ड्राइभर समातिएका थिए। जसमध्ये दुईजना ड्राइभर स्कुल बस चलाउने छन्। हाइड एन्ड सिक मन्टेश्वरी स्कुल सानो भर्‍याङको प्रदेश ३ ०१ ०२३ च ३३६८ नम्बरको भ्यान चालक वीरेन्द्र तामाङ र फ्लोरोसेन्ट इङ्ग्लिस हायर सेकेन्डरी स्कुल बानियाँटारको बा २ क ६५७ नम्बरका बस चालक खिमप्रसाद पुनलाई मदिरा पिएको पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुले मदिरा सेवन गरी स्कुलको सवारी साधन चलाएको पाइएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीपछि सम्बन्धित स्कुलका प्रधानाध्यापकलाई जिम्मा लगाएको छ।
यसअघि ट्राफिक प्रहरीले विभिन्न स्कुलका बस मदिरा पिएर चलाएको अवस्थामा फेला पारेर सातजना ड्राइभरमाथि कारबाही गरिसकेको छ।

त्यस्तै बिहीबारै ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा २ सय ६३ जना चालक कारबाहीमा परेका छन्। पानी बोक्ने सवारी साधन ७१ वटा, एम्बुलेन्स ५ वटा र अन्य सवारी साधन १ सय ८७ गरी जम्मा २ सय ६३ सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो। प्रहरीले मदिरा सेवन गरी पानी बोक्ने सवारी साधन चलाउने चालक ३ जना र अन्य सवारी साधन चलाउने २ जना चालकमाथि कारबाही गरेको छ। नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ६ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।