१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको सूर्यविनायक गुण्डुमा द्वारका धाम निर्माण




२० साउन ०७९, सूर्यविनायक । सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ ।
श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्रले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्वारका धाम जस्तै नेपालमा पनि सूर्यविनायकको गुण्डुमा द्वारका धाम बन्ने बताएको हो ।
सूर्यविनायक ७ गुण्डुको पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारका धाम निर्माण कार्य सुरु गर्न लागेको गुण्डुस्थित पाथिभरा मन्दिरका मूल गुरु अरविन्द शास्त्रीले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा शास्त्रीले भने, “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथिभरा मन्दिर निर्माण गरेर यहाँको धार्मिक विकासमा टेवा पु¥याएका छौँ, अब पाँच वर्षभित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो पटक द्वारका धाम निर्माण गर्न लागेका छौँ, यसले धार्मिक पर्यटनको विकासमा समेत टेवा दिनेछ ।”
यही साउन २५ गते शिलान्यास हुने द्वारका धाम यहाँका करिब आठ रोपनी क्षेत्रफलमा करिब रु १० करोडको लागतमा निर्माण सम्पन्न गर्ने गुरुयोजनाका साथ कार्य अगाडि बढाइएको उनले बताए ।
द्वारका धाम मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउँदै उनले भारतको द्वारका धाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य सुरु भइसकेको जानकारी दिए । उनले तीनवटै सरकार र दाताबाट सङ्कलन हुने रकमबाट मन्दिर निर्माण गर्ने लक्ष्य राखेको बताए । द्वारका धामसँगै पाथिभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषि मूर्ति स्थापना गरिने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले भक्तपुरको गुण्डुमा पाथिभरा मन्दिर निर्माण भएपछि नयाँ पर्यटकीय गन्तव्य बनेको भन्दै द्वारका धामको निर्माणले यहाँका क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्वारका धामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताए । उनले द्वारका धाम निर्माणका लागि वडा तथा नगरपालिकाले आवश्यक सहयोग गर्ने जानकारी दिए ।
कार्यक्रममा गौ संरक्षण केन्द्रका अध्यक्ष नारायण न्यौपानेले ताप्लेजुङको पाथिभरा मन्दिरमा २०७२ सालमा पाँच वर्षको अखण्डदीप प्रज्वलन गरी विसं २०७५ मा सवा करोड बत्ती बालेर नेपालकै ठूलो त्रिशूल जगाएर ल्याएर गुण्डुमा पाथिभराको मन्दिर निर्माणस्थलमा स्थापना गरिएको बताए ।
उनले पाथिभरा जस्तै द्वारका धाम निर्माण गर्ने, गौ अर्थात् गाईहरुको संरक्षण गर्ने, संस्कृत विद्यालय स्थापना गर्ने र धार्मिक क्षेत्रको विकास गर्ने लक्ष्यका साथ अभियान सुरु गरिएको उल्लेख गरे । उनले द्वारका धाम निर्माणमा आर्थिक तथा भौतिक सहयोग गरेर पुण्य कार्यमा मेरो पनि लगानी छ भन्ने आधार तय गर्दै दातालाई सहयोग गर्न आह्वान गरे ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ६ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।