१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा शुरु भयो ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान



२२ साउन ०७९, काठमाडौं । काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट अभियान थालेको छ ।

काठमाडौंमा २०७४ साल वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने निर्णय गरिए पनि प्रभावकारी पालना नभएकाले त्यसलाई कार्यान्वयन गर्ने अभियान सुरु गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा आजबाट यो अभियान सुरु गरिएको छ ।

सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ ।

अनावश्यकरुपमा हर्न बजाए ५०० रुपैयाँ जरिवाना हुने व्यवस्था छ । ‘नो हर्न’को नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा भने लागू हुनेछैन ।

‘नो हर्न’ अभियान प्रभावकारी बनाउन अभियान सुरू गरिएको अवसरमा आज बिहान आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘नो हर्न’ अभियानलाई पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताए । सवारी चालकहरुलाई धैर्य भई हर्न नबजाइकन यात्रा गर्न र नो हर्न अभियानलाई सफल बनाउन आग्रह गरे ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १ : २४ बजे