१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोसाइँकुण्ड पुग्दै भक्तजन



रसुवाको गोसाइकुण्ड क्षेत्र । फाइल तस्विर : ललितपुर खबर

२५ साउन ०७९, रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन आउने क्रम जारी छ । नागपञ्चमीबाटै सुरू भएको धार्मिकयात्राअन्तर्गत २३ गते पुत्रदा एकादशीसम्म करिब दुई हजार भक्तजनले गोसाइँकुण्डको दर्शन गरिसकेको र जनैपूर्णिमाका लागि भक्तजन आउने क्रम जारी रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
यही साउन २७ गते जनैपूर्णिमाको मुख्य पर्वका दिन स्नान तथा पूजाआजाका लागि एक हजारभन्दा बढी भक्तजन धार्मिकमार्गबाट शुलाद्री आरोहणका लागि आज बिहानैदेखि धुञ्चेबाट प्रस्थान गरिसकेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए ।
यात्रुको सङ्ख्या आकलन गर्ने काम निकुञ्जबाट भइरहेको बताउँदै अधिकृत भट्टराईले लौरीको नाममा वनस्पति नकाट्न, फोहरमैला जथाभावी नफ्याँक्न र चन्दनबारी तथा चोलाङपाटीको रेडपाण्डा बासस्थान क्षेत्रमा होहल्ला नगर्न यात्रुसमक्ष अनुरोध गरेका छन् । गोसाइँकुण्ड स्नानका लागि आज बुधबार र भोलि बिहीबारसम्म १० हजारभन्दा बढी भक्तजन रसुवा प्रवेश गर्ने अनुमान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले अनुमान गरेको छ ।
गोसाइँकुण्ड तीर्थको स्नानका लागि रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नवलपरासी, चितवान, कास्की, मकवानपुर, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, छिमेकी जिल्ला धादिङ, नुवाकोट जिल्लाबाट भक्तजनको आगमन भएको बताइएको छ । गोसाइँकुण्ड स्नान गराउन आवश्यक सुरक्षासहित गोरखनाथको मूर्ति शिरमा राखी गोरखनाथका पुजारी बाबा मङ्गलबार नै गोसाइँकुण्ड प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ । जनैपूर्णिमाका अवसरमा प्रत्येक वर्ष गोरखनाथलाई गोसाइँकुण्ड पु¥याउने चलन रहिआएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।