२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठेचोको नवदुर्गा मन्दिरको खोलियो ताल्चा (तस्विरहरु सहित)




९ भदौ ०७९, ललितपुर । ठेचोको नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा सञ्चालन भएसँगै गत साउन १० गते गठेमङ्गल अर्थात गठामूग चे¥हेका दिन मन्दिरमा लगाइएको ताल्चा खोलिएको छ । उक्त दिनदेखि ठेचोमा जात्रा सुरु भएसँगै एक महिनासम्म मन्दिरको ढोको बन्द गर्ने परम्पराअनुसार आज यँ पञ्चदानका दिन ढोका खोलिएको हो । बिहान ७ः३० बजे मन्दिरका १४ गुठीयार बसेर पूजा गरी ताल्चा खोलिएको गुठीका नाइके भक्तलाल मालीले बताउनुभयो । उनले भने, “आज बिहान १० बजे गुठीका सबै ३४ देवगण मन्दिरमा बसेर देवीको विशेष पूजासहित बलि दियाँै । पूजा सकिएपछि बेलुका प्रसाद बाँड्ने र खाने गरिन्छ। ”


पञ्चदानपछि हाल मन्दिर परिसरमा बनाइरहेको छाप्रोमा देवगणलाई नाच सिकाएर आउँदो विजयादशमीका दिन पाटन दरबार क्षेत्रका साथै पटुको टोलमा नृत्य प्रस्तुत गर्न तयार पारिने गुठीका अध्यक्ष धर्मराज मालीले बताए ।
उनले भने, “विजयादशमीका दिन हामीले पाटन दरबारको मूल चोकमा रहेको मानमानेश्वरी देवीलाई फूलमाला चढाएर यहाँका दुई स्थानमा नृत्य गर्नेछाँै । योसँगै अब साइत हेरेर एक दिन दलचोकी तीनपाने भञ्ज्याङमा दाउरा लिन गई ललितपुर महानगपालिका २७ स्थित बालकुमारी मन्दिरमा फूलपातीका दिन मुखुण्डो जगाउने काममा होम गर्न प्रयोग गर्नेछाँै ।” सो दाउरा भने ३५ व्यक्तिले ल्याउने र पुजारीले ल्याएको एक भारी भने कतै नबिसाइ छाप्रोमा राखिने नियम रहेको अध्यक्ष मालीले जानकारी दिए।
प्रत्येक बाह्रवर्षे जात्राका अवसरमा फूलपातीका दिन भैरव, श्वेत भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महादेव, विष्णुदेवी, महालक्ष्मी, सिंहिनी, ब्रिहिणी र इन्द्रायणीले लगाउने १३ मुखुुण्डो जगाउने गरिएको गुठीका पुजारी गोपाल मालीले बताउनुभयो । उनले भने, “यस दिन रातभर ३४ गुठीयार बसेर मुखुण्डो जगाउने काम गर्नेछाँै ।” सो मुखुण्डो भने आउँदो दसैँको अष्टमीका दिन ११ देवगणले लगाइ एकछिन नृत्य मञ्चन गरेर नवदुर्गाको मन्दिर आउने गर्दछन् ।
जात्रा अवधिभर २८ किसिमका पर्व पूजा गरिने गुठीका अर्का नाइके पाँचभाइ मालीले बताए । उनले भने,“यस जात्राअन्तर्गत पूजापर्वमा सुनाकोठीमा गरिने ‘कुल्पी यज्ञ’ को विशेष महत्व छ । यसमा रातभर यज्ञ गरी नयाँ मुखुण्डो तथा पोसाक एवं खड्गका साथै गरगहना साधना गरी देवता प्रतिस्थापना गर्ने गरिन्छ ।” सो जात्रा भने आउँदो फागुनदेखि चैतसम्म जारी रहने नाइके मालीले जानकारी दिए । बाह्र वर्षभर गरिने पूजापाठका लागि रु ७६ लाख ४३ हजार एक सय ५० माग भएसँगै आफूले केही समय पहिला रु ५० लाखको बजेट व्यवस्था गरिदिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने,“नेपालका प्रसिद्ध नाचमध्ये यस नवदुर्गा भवानीदेवी नाच पनि प्राचीन संस्कृतिको धरोहर रहेकाले हामीले बजेटको व्यवस्था गरिदिएका हाँै ।”
उक्त जात्रामा देवगणहरुले तान्त्रिक र यान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य गर्ने गरेका गुठीका नाइके जीतेन्द्र मालीले बताउनुभयो । उनले भने, “परम्पराअनुसार गणेश हुनेले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढ्ने विश्वास गरिन्छ । यस जात्रामा इन्द्रायणी देवीको भने नृत्य गराइँदैन ।” सो जात्रामा श्वेत भैरवको भने बाह्रवर्षमा एक पटक मात्र नृत्य गराइन्छ । नवदुर्गा नाच पाटन दरबार क्षेत्रका लिच्छवी राजा मानदेवका इष्टदेवता मानमानेश्वरी देवी अर्थात पायो जात्रासँग पनि प्रत्यक्ष सम्बन्ध रहेको छ । पाटन दरबार क्षेत्र केन्द्रित लिच्छवीकालीन खड्ग जात्रा सञ्चालन गर्ने श्रेय भने राजा गुणकामदेवमा रहेको भाषा वंशावलीमा उल्लेख गरिएको छ ।
ठेचोमा सो जात्रा सुरु भएसँगै भोजभतेर तथा बिहे र व्रतबन्ध नगरिने जात्रा प्रचारप्रसार समितिका संयोजक विकास मालीले बताउनुभयो । उनले भने, “जात्रा अवधिभर नवदुर्गा देवीको बाजा बाहेक पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा झुण्डाएर बस्न, परदेशीलाई वासबस्न दिनेगरी सत्कार गर्न, राति हिँड्डुल गर्न तथा सिठ्ठी, ताली, घण्टा र अन्य बाजा बजाउन मिल्दैन ।”
रासस तस्विरहरु ललितपुर खबर

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  १२ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।