१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सातदोबाटो भेल्पाटोलमा अनुमतिविनै रूख कटान, वडाध्यक्षलाई कारबाहीको तयारी



फाइल तस्बिर

१२ भदौं ०७९, ललितपुर ।  ललितपुर सातदोबाटो भेल्पाटोलमा सार्वजनिक जग्गामा रहेको रूख अनधिकृत रूपमा वडाले कटान गरेको छ । ललितपुर महानगरपालिका–१५ का वडाध्यक्ष सुरेशबहादुर शाहीले नेवार समुदायको भोजभतेरका लागि संरचना बनाउने भन्दै सार्वजनिक जग्गामा रहेका १५ वटा काइयोको रूख काटेको पाइएको हो ।

उनले असार पहिलो साता रातिको समयमा रूख कटान गरेको बताइएको छ । सार्वजनिक जग्गामा रहेका रूख अनुमतिविना कटान गरेको भन्दै डिभिजन वन कार्यालय ललितपुरले वडाध्यक्षमाथि कारबाही थालेको छ ।

डिभिजन वन कार्यालय ललितपुरका प्रमुख रामकुमार भण्डारीले अवैध रूपमा १५ वटा रूख कटान भएको बताए । उनले वडाध्यक्षमाथि थप अनुसन्धान थालेको जानकारी दिए । वनले उनीमाथि अनुसन्धानका लागि सहायक वन अधिकृत अनुपा घिमिरेको संयोजकत्वमा छानबिन समितिसमेत बनाएको छ । एक साताअघि बनेको समितिले रूख कटानबारे प्रतिवेदन तयार पारेर कार्यालय प्रमुखलाई पेस गर्नेछ ।

सार्वजनिक जग्गामा रहेका रूख काटेपछि स्थानीयले विरोध गरेका छन् । उनीहरूले भेल्पा टोल सुधार समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको समेत त्यसमा संलग्न रहेको भन्दै कारबाहीको माग गरेका छन् । ‘वडाध्यक्ष र टोल सुधार समितिका अध्यक्षले आफ्नो स्वार्थमा संरचना बनाउन सार्वजनिक जग्गामा रहेका रूख काट्नुभएको छ,’ स्थानीय श्यामकृष्ण देवकोटाले भने, ‘हामीले रोक्दारोक्दै उहाँले राति रूख काट्न ठेक्का दिनुभयो ।’ उनका अनुसार वडाध्यक्षले नेवार समुदायले भोज खाने ठाउँ बनाउन अग्ला रूख कटान गरेका थिए ।

रूख काटिएपछि स्थानीयले हेल्लो सरकार र डिभिजन वन कार्यालय ललितपुरमा उजुरी दिएका थिए । त्यसलगत्तै हेल्लो सरकारले वडा कार्यालयलाई स्पष्टीकरण सोधेको थियो । तर, वडाध्यक्ष शाहीले व्यक्तिगत जग्गामा रहेका रूख काटेको जवाफ दिएका थिए । जिल्ला मालपोत कार्यालयको नक्साअनुसार रूख काटिएको क्षेत्र सार्वजनिक जग्गाभित्र पर्छ । सोही प्रमाणका आधारमा डिभिजन वन कार्यालयले अनुसन्धान अघि बढाएको छ ।

रुख कटानविरुद्ध स्थानीयले साउनको अन्तिम साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पनि उजुुरी दिएका छन् । रूख कटानमा संलग्न आरोपित वडाध्यक्ष शाहीले व्यक्तिगत जग्गामा रहेका र ढलेर क्षति पुर्‍याउने अवस्थामा रहेका रूख काटिएको बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १ : ४५ बजे