१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सूर्यविनायक–धुलिखेल सडकः काभ्रेपलाञ्चोक खण्ड ३ वर्षमै बन्ने



१५ भदौं ०७९,काठमाडौं ।  सूर्यविनायक–धुलिखेल सडकः काभ्रेपलाञ्चोक खण्ड ३ वर्षमै बन्नेअरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्ने प्रक्रियाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ। यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको छ।

आयोजनाले केही दिनअघि मात्रै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो। सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै गर्ने गरी हाललाई साँगाबाट धुलिखेलसम्मका लागि रु चार अर्ब ८९ करोड लागतमा ठेक्का आह्वान गरिएको छ। यसअघि जापान सहयोग नियोग (जाइका) ले आयोजनाबाट हात झिकेपछि सडक विभाग आन्तरिक स्रोतबाटै निर्माण अघि बढाउने तयारीमा लागेको थियो।

डीपीआरअनुसार ६ लेनमा सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्न रु ९ अर्ब लाग्ने छ। प्रतिवेदनअनुसार साँगामा डेढदेखि दुई किलोमिटर सडक विस्तारमा समस्या देखिकाले हाललाई सूर्यविनाक–धुलिखेल सडक विस्तारअन्तर्गत काभ्रेपलाञ्चोक खण्डको साँगादेखि धुलिखेलसम्म विस्तारका लागि ठेक्का आह्वान गरिएको आयोजनाका सिनियर डिभिजन इञ्जीनियर शम्भुप्रसाद आचार्यले जानकारी दिए।
काभ्रेपलाञ्चोक खण्ड साँगाबाट धुलिखेलसम्म करिब १० किलोमिटरको दूरी पर्छ। आचार्यका अनुसार ठेक्का पाउने व्यवसायीले तीन वर्षभित्र निर्माण पूरा गर्नुपर्ने तथा निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको समेत जिम्मा लिनुपर्ने छ। भदौमा प्रक्रिया सकेर आउँदो असोजमा सम्झौता हुने बताइएको छ।

डीपीआरमा गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने छ भने बीचमा तीन मिटरको मेडियन निर्माण गर्नुपर्ने उल्लेख छ। आचार्यका अनुसार आगामी कात्तिकबाट काम सुरु गर्न सकिन्छ। यस आयोजनाअन्तर्गत भक्तपुर खण्डअन्तर्गत साँगाबाट सुर्यविनायकसम्म छुट्टै बोलपत्र आह्वान गरिनेछ।

आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि साउन पहिलोसाता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। सडक विभागले केही वर्षदेखि धुलिखेलबाट बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो। उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने, नभए सरकार आफैँले निर्माण गर्ने योजना थियो।

उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जाइकाले हात झिकेको छ। ‘बोलपत्र आह्वान भएको छ, अब जाइकाले चासो दिए मात्रै हो, उसले सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम नगर्ने जनाएको छ’, आचार्यले भने।

उक्त सडक आयोजना करिब १६ किलोमिटर दूरीको हो। अध्ययनअनुसार उक्त दूरीमा ६ स्थानमा आकाशे पुल, ४ स्थानमा पुल र एउटा कल्भर्ट निर्माण हुने छन्। भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा प्रस्तावित एक दशमलव २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने–नगर्नेबारे छलफल भइरहेको छ।
‘सुरुङमार्ग निर्माण गर्दा निकै खर्चिलो हुने भएकाले लगभग नबन्ने देखिएको छ’, आचार्यले भने। जाइकाले नै सूर्यविनायक–धुलिखेल सडक विस्तारबारे सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेस गर्दै सरकारको बजेटमा डिजाइनअनुसारको काम गर्न नसक्ने जनाएको हो।

सरकारले आव २०७७/७८ मा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार सुरु गर्न रु एक अर्ब २० करोड विनियोजन गरेको थियो भने अघिल्लो आवमा समेत उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो। डिभिजन सडक कार्यालय भक्तपुरले २०७६ सालमा सडक निर्माणस्थल खाली गराउन रूख कटानलगायत काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो।

सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ। यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र मधेश प्रदेशका नागरिक काठमाडाैँ आउजाउ गर्छन्।

उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ। तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ। सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाका विभिन्न ठाउँमा आवतजावतका लागि समेत यो सडक प्रयोग हुन्छ।

रासस

 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  २ : १२ बजे