
२२ भदौं ०७९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु परीक्षणको शुल्कमा एक रूपता कायम गर्ने भएको छ । सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम चार सयदेखि तीन हजार चार सय रुपियाँसम्म लिने गरेका थिए ।
डेंगु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेको भएपनि सरकार मातहतकै निकायले महँगो शुल्क लिने गरेको पाएपछि मन्त्रालयले एकरुपता कायम गर्ने तयारी गरेको हो । तीन दिनदेखि एक साताभित्रमा डेंगुको शुल्क निर्धारण गर्ने मन्त्रालयको तयारी छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत डेंगु परीक्षण शुल्क आठ सय रुपियाँ तोकेको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र वीर अस्पतालले भने पाँच सय रुपियाँमा नै डेंगु परीक्षण गराउने गरेका छन् ।
त्रिवि शिक्षण अस्पतालले डेंगु परीक्षणको शुल्क ९ सय ६० रुपियाँ लिने गरेको छ । प्राइभेट क्लिनिकको हकमा एक हजार दुई सय लिने गरेको छ । यस्तै निजामती अस्पतालमा आठ सय, पाटन अस्पतालमा एक हजार पाँच सय, भक्तपुर अस्पतालमा ७५० र छ सय, वीर र टेकुले पाँच सय रुपियाँ लिने गरेका छन् । निजी प्रयोगशालातर्फ भने मनलागी शुल्क रहेको छ ।
देशभर ७७ मध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । २०६८ पुसयता हालसम्म देशभर ६ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ । सरकारको तथ्यांकअनुसार देशभर डेंगुबाट संक्रमित तीन जनाको मृत्यु भएको छ । हालसम्म बाग्मती, लुम्बिनी र प्रदेश १ मा डेंगु संक्रमण सबैभन्दा बढी देखिएको छ ।







प्रतिक्रिया