२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पनौतीमा खुल्यो प्रादेशिक गुरुकुल स्कुल




१४ असोज ०७९, पनौती । पनौतीमा प्रदेशस्तरको गुरुकुल स्कुल खुलको छ । गुरुकुल शिक्षाप्रति चासो राखेका स्थानीयले पनौतीमा बाग्मती प्रदेशस्तरको गुरुकुल स्कुल संस्थागत गरेका हुन् ।
पनौतीस्थित त्रिवेणीघाट सत्तलमा १४ बटुक अध्ययन गरिरहेका बटुकलाई गुरुकुलमा संस्थागत गरी प्रदेशस्तरको स्कुल स्थापना गरिएको स्थानीय युवा पण्डित अच्युत भट्टराईले जानकारी दिए । उनले हालै स्थापित गुरुकुल स्कुलमा कक्षा ६ मा १४ बटुक रहेको र आउँदो शैक्षिक सत्रदेखि बटुक सङ्ख्यासँगै कक्षा थप्दै जाने योजना बनाइएको बताए ।
गुरुकुलमा अध्ययनरत बटुकलाई कर्मकाण्ड र धर्ममात्रै नभई आधुनिक शिक्षाको ज्ञान–सीप प्रदान गरिने जनाइएको छ । यस्तै उक्त गुरुकुलबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी शिक्षालाई व्यवस्थित गर्न सोहीअनुसारको शिक्षा पहिचान गरिएको पण्डित भट्टराईले बताए । उनले भने, “पछिल्लो समय गुरुकुल शिक्षाप्रति आकर्षण बढ्न थालेकाले स्थानीयको पहलमै पनौतीमा प्रदेशस्तरको गुरुकुल स्थापना गरेका हौँ ।”
गुरुकुल स्कुललाई सोही शिक्षाअनुसार उत्तरमध्यमा (प्रवीणता प्रमाणपत्र तह), शास्त्री (स्नातक तह), आचार्य (स्नातकोत्तर तह) र पिएचडीसम्मको शिक्षण गरिने योजना बनाएको स्थानीय भागवत धर्म संरक्षण समितिले जनाएको छ । स्कुलको सम्पूर्ण व्यवस्थापन स्थानीयको सहयोगमा गरिएको समितिका अध्यक्षसमेत रहनुभएका भट्टराईले बताए ।
ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल पनौतीलाई सनातन वैदिक धर्म र हिन्दू संस्कारलाई जगेर्ना गरी पुण्य भूमिका रूपमा नगरलाई पहिचान दिलाउने उद्देश्यले गुरुकुल स्थापना गरिएको स्थानीय व्यवसायी प्रदीप बोगटीले बर्ता । उनले भने, “स्थानीयको सहयोगमा गरुकुल स्थापना गरेका छौँ, स्कुललाई सहयोग गर्न सरोकारवाला निकायसँग माग गरिरहेका छौँ ।” समितिका अनुसार गुरुकुल स्कुल सञ्चालनार्थ स्थानीय तथा प्रदेशस्तरका जनप्रतिनिधिको साथ–सहयोग लिइने छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ७ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।