६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दशैंमा झरिपछि बाढी आयो : राप्तीले तीन सयभन्दा बढी घर डुबायो




२० असोज ०७९, बाँके । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् ।
बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताएका छन् । राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरु त्रसित भएका छन् । घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् ।
अत्यावश्यक सामाग्री लिएर स्थानीयहरु आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ । अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले छ दशमलव त्रिसट्ठी मिटर पार गरेको छ । राप्तीनदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।
अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्नसक्ने जिल्ला आतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । राप्तीनदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दीगाउँलगायत स्थानमा बाढी आउँछ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचनामार्फत् आग्रह गरेको छ । बाढी र डुबान सुरु भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारणहरु अहिले त्रसित् छन् ।

 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ४ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।