११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा रोटरीद्वारा अन्तरक्रिया



२५ असोज ०७९, भक्तपुर । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको गल्र्स चाइल्ड इम्पावरमेन्ट कमिटीले मंगलबार भक्तपुरको मेधा माध्यमिक विद्यालयमा बालिकाको सशक्तिकरणका सन्दर्भमा एक अन्तरक्रिया तथा जागरणमुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बालिकाको सशक्तिकरणका विविध आयामदेखि रोटरीको भूमिकाका सन्दर्भमा पनि कार्यक्रममा छलफल गरिएको छ ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२०२ नेपाल भुटानका डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले बालिकामाथि हुने सवैप्रकारका घरेलु तथा लैंगिक हिंसाको अन्त्य नभएसम्म बालिकाको सशक्तिकरण हुन नसक्ने बताए ।

उनले हरेक बालिकामा आफुविरुद्वका हिंसाको प्रतिरोध कसरी गर्ने भन्ने विषयमा अभिमुखीकरणको खाँचो रहेको औँल्याए । बालिकाको सशक्तिकरणको सन्दर्भमा शिक्षा नै सबैभन्दा बलियो आधार भएकाले प्रत्येक बालिका शिक्षित हुने अवस्था सिर्जना गर्नेतर्फ आम रोटरियन तथा रोटरी क्लवको ध्यान पुग्नुपर्ने गभर्नर राजभण्डारीको तर्क थियो । प्रत्येक बालिकाले आफुले विभिन्न माध्यमवाट प्राप्त गरेका ज्ञान एवं शिक्षालाई व्यवहारिक जीवनमा लागु गर्न सक्ने अवस्था सिर्जना गर्न सकेको खण्डमा सशक्तिकरणको नारा सार्थक हुन सक्ने राजभण्डारीको भनाई थियो ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ की गल्र्स चाइल्ड इम्पावरमेन्ट कमिटीकी चेयर हेमा कुमारी अधिकारीले अन्तर्राष्ट्रिय बालिका दिवसलाई राज्यको प्राथमिकतामा पर्न नसक्नु विडम्बनापूर्ण भएको बताइन् । अधिकारीले प्रत्येक बालिकामा उच्च संकल्प शक्तिले जे पनि सम्भव हुन्छ भन्ने मानसिकताको विकास गर्न सकिएको खण्डमा बालिकाको सशक्तिकरण हुने बताइन् ।

उनले जागरण, शिक्षा, प्रेरणा, उचित मार्गदर्शनको अभावमा बालिकाको सशक्तिकरण यथास्थितिमा असम्भव रहेको बताउँदै त्यसका लागि अभिभावक, समाज, विद्यालय, सामाजिक संघसंस्था, संचारमाध्यम र राज्यले बालिकाको सशक्तिकरणका सन्दर्भमा विशेष अभियान सञ्चालन गनुपर्ने धारणा राखिन् । म केहि गर्न सक्छु भन्ने आत्मविश्वासको विकास, छोरी हुनुको हिनताबोधको अन्त्य र बाल्यकालदेखिनै आत्मसम्मानको महसुस गराउन सकेमा मात्र बालिकाको सशक्तिकरण सम्भव रहेकोले त्यसका लागि अभिभावक, बिद्यालय र समाज नै प्रेरणापुञ्ज बन्नुपर्ने तर्क अधिकारीले राखेकी थिइन् ।

कार्यक्रम रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको गल्र्स चाइल्ड इम्पावरमेन्ट कमिटिको आयोजना, रोटरी क्लव अफ जावलाखेल र रोटरी क्लव अफ भक्तपुरको सहयोगमा सम्पन्न भएको थियो ।

कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर सञ्जय गिरीले बालिका सशक्तिकरणका विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा रोटरी क्लव अफ भक्तपुरकी अध्यक्ष बिनिता हाडाले स्वागत गरेकी थिईन भने धन्यवाद ज्ञापन रोटरी क्ल्व अफ जावलाखेलका निर्वतमान अध्यक्ष प्रविण भट्टराईले गरेका थिए । कार्यक्रममा रोटररियन समेत रहेकी प्रशिक्षक आरधना श्रेष्ठले सफ्ट स्किल्सबारे विद्यालयका कक्षा नौका छात्र तथा छात्राहरुलाई प्रशिक्षण प्रदान गरेकी थिइन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ४ : ४० बजे