११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सम्पदा क्षेत्रका जनतालाई फाइदा हुने गरि विकाश गरिने



७ कात्तिक ०७९, काठमाडौं । सरकारले सम्पदा क्षेत्रका बासिन्दालाई फाइदा हुने गरि पर्यटकीय विकाश गर्ने सोच बनाएको छ ।
सम्पदा क्षेत्रको प्रत्यक्ष लाभ स्थानीय बासिन्दाले पाउने व्यवस्था गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाइने उनको भनाइ छ । स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गराउने योजना अनुसार आफ्नो क्षेत्रमा स्थानीय पथप्रदर्शक तालिम तथा होमस्टे तालिमलाई अभियानका रुपमा अघि बढाएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले पर्यटन दशकको अवधारणा अघि बढाएको उल्लेख गर्दै उनले पर्यटन नै नेपालको आर्थिक विकासको दीगो स्रोत भएको र कोभिड १९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न आफूले ‘पर्यटन दशक २०२३–२०३३’ को अवधारणा अगाडि सारेको बताए । सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने सोच अगाडि सारिएको छ ।
काठमाडौँंको छाउनीस्थित बाहिटी सङ्गमटोल सुधार समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौंँ निर्वाचन क्षेत्र नं ८ मा पूर्वाधार विकासतर्फ आफूले गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको बताउदै आगामी दिनमा उक्त क्षेत्रलाई पर्यटकीय नमूनास्थल बनाउने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजना, सांस्कृतिक सम्पदाको पुनःनिर्माण, संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्क निर्माण, सडक पुल, झलुङ्गे पुल तथा आकाशे पुल निर्माण तर्फ अधिकांश चुनावी प्रतिबद्धता पूरा गरेको उनले बताए ।
आसन्न निर्वाचनमा काठमाडौंँ निर्वाचन क्षेत्र नं ८ बाट वाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारसमेत रहेका मन्त्री श्रेष्ठले वसन्तपुर– स्वयम्भू–ह्वाइट गुम्बालाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : १४ बजे