११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर गुण्डुका किसानले बेचे तीन करोडको फूल र माला



फाइल तस्बिर

७ कात्तिक ०७९, भक्तपुर । फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक ७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी रु तीन करोडभन्दा बढी आम्दानी गरेका छन् ।
यहाँका किसानले व्यावसायीक रुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन् । वडा अध्यक्ष रबीन्द्र सापकोटाले तिहारअघि मात्रै रु तीन करोड बराबरको माला बिक्री भइसकेको जानकारी दिएका छन् ।
गतवर्ष मात्रै तीन हजार माला बिक्री गर्नुभएकी पार्वती नगरकोटीले यसवर्ष भने पाँच हजार माला बिक्री गर्ने बताइन् । नगरकोटीले एक रोपनीमा फूलखेती गरिरहनु भएको छ । किसानले माला प्रतिगोटा रु २५ देखि ३५ मा बिक्री गर्छन् ।
अर्का किसान पवित्रा बस्नेतले यसवर्ष पनि फूल र मालाको माग गत वर्षको तुलनामा धेरै भएको बताइन् । एक रोपनी जग्गामा फूलखेती गरेकी उनले यसवर्ष करिब १२ सय वटासम्म माला बिक्री गर्ने योजनामा छिन् ।

गुण्डुका किसानहरुले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको रोप्दै आएका छन् । “मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल साउनको पहिलो साताबाट टिप्न शुरु हुन्छ”, किसान मेनुका नगरकोटीले भने ।
स्थानीय बासिन्दाले मात्रै नभई जग्गा भाडामा लिएर फूलखेती गर्नेहरु पनि थपिएपछि यहाँ फूल उत्पादन बढेको छ । सूर्यविनायक नगरपालिकाले वडा कार्यालयमार्फत् यहाँका फूलखेती गर्ने किसानलाई यसवर्ष ६० हजार फूलको बेर्ना वितरण गरेपछि सयपत्री फूलतर्फ पनि यहाँका बासिन्दा आकर्षित भएका हुन् ।

चाँगुनारायण नगरपालिका ९ ताथलीका वनमाला टोलका बासिन्दालाई पनि माला गाँस्न र बजारमा लैजान भ्याइनभ्याइ छ । फूल खेतीको पुख्र्यौली पेशा अङ्गाल्नु भएका किसान श्याम बनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ भइरहेको बताए ।
विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आएकी स्थानीय शोभा बालाले यहाँ दुईआना जग्गामा फूल खेती गर्नेले पनि एउटा मौसममा ३० हजार कमाउने गरेको बताउछिन् । राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा रु ७० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ६ : २५ बजे