२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुग्यो



२१ कात्तिक ०७९, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार दुई सय १७ जना सङ्क्रमित रहेका छन् । दोस्रो धेरै सङ्क्रमित लुम्बिनी प्रदेशमा चार हजार आठ सय २७ र प्रदेश १ मा एक हजार नौ सय ३३ रहेका छन् ।

यस्तै सबैभन्दा कम सङ्क्रमित भएको भनिएको कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या छ सय ७२ पुगेको छ । काठमाडौँ जिल्ला सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् । काठमाडौँमा आइतबारसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ हजार सात सय ३२ पुगेको छ । क्रमशः ललितपुरमा नौ हजार ५००, भक्तपुरमा पाँच हजार तीन सय ६६, मकवानपुरमा पाँच हजार दुई सय ८१ र चितवनमा दुई हजार पाँच सय ८० रहेको छ । छ दिनमा डेङ्गुको छ सय २४ नयाँ सङ्क्रमित थपिएका हुन् ।
यस्तै अहिलेसम्म डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सय ३९ पालिका, ६० जिल्ला र सातै प्रदेशमा ‘खोज र नष्ट गर’ अभियानमार्फत डेङ्गु सङ्क्रमण नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।