१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


को हुन डा. तोसिमा कार्की ?



माधवप्रसाद घिमिरे

८ मङ्सिर ०७९, पाटन । प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा तोसिमा कार्की प्रवेश गरेकी छिन् । उनले ३१ हजार एक सय ६ मतसहित विजय प्राप्त गरेको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । प्रदेशसभासदस्य निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अमृत खड्काभन्दा १८ हजार एक सय ७३ भन्दा बढी मत प्राप्त गरी विजय भएकी हुन् । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरेकी छिन् ।


घण्टी चिह्नमा चुनाव लडेकी उनी पेसाले पाटन अस्पतालमा चिकित्सक (जनरल सर्जन) थिइन् । उनले सो पदबाट राजिनामा दिएर निर्वाचनमा होमिएकी हुन् । पिता पदमबहादुर कार्की र माता दीपा कार्कीका छोरी डा तोसिमाको जन्म विसं २०४६ मा भएको हो । ललितपुर महानगरपालिका १८ नख्खुखोला मार्ग निवासी डा तोसिमाले कक्षा दशसम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा गरेकी थिइन् । उनले मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमविविएससम्मको अध्ययन पूरा गरेकी हुन् ।

काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रिय सदस्य समेत हुन् । सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उनले भूकम्पमा सिन्धुपाल्चोकको बतासे, रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङ लगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गरेकी तोसिमा सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय छिन् ।
निर्वाचनमा विजयी भएपछि उनले बोल्न नसक्नेको आवाज बन्ने, मौलिक हकअधिकार सुनिश्चितताको लागि लड्ने तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने प्रतिक्रिया दिइन् । उनले भनिन्, “चुनावका लागि सार्वजनिक गरेको घोषणापत्र अनुसार म स्वास्थ्य शिक्षा स्वरोजगारको सुनिश्चितताको आधार बन्ने छु ।”

रासस

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ९ : ५३ बजे