१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नमुना बन्यो ललितपुर ३ को वडा कार्यालयः सेवाग्राही लिन गाडीसहित घरघरमै



ललितपुर खबर
१५ मंसिर ०७९, ललितपुर ।  ललितपुर महानगरपालिका–३ को वडा कार्यालय नमुना वडा कार्यालयको रुपमा ठहरिएको छ । यस वडाले आफ्ना वडाभित्रका सेवाग्राहीलाई लिन विद्युतीय गाडीसहित हरेक दिन घरघरमै पुग्ने गरेको छ । उक्त गाडी बिहान नौ बजेदेखि १० बजेसम्स सेवाग्राही खोज्दै वडाभरि पुग्ने गरेको छ । उक्त विद्युतीय गाडीमा ६–७ जना चढ्न मिल्छ ।
वडाअध्यक्ष श्रीगोपाल महर्जनले घरनजिकको सरकारलाई स्थानीयले महसुस गर्नुपर्ने बताए ।
अन्य समयमा उक्त भ्यानलाई ललितपुरको सानेपास्थित वडा कार्यालय प्रांगणमा पार्किङ गरिन्छ । सेवाग्राहीकै सहजताका लागि खरिद गरिएको उक्त भ्यानले सहज बनाएको वडाध्यक्ष महर्जनले बताए ।
वडाले प्रशासनिक सुविधाबाहेक थप २२ प्रकारमा सुविधा दिँदै आएको छ । एकल पुरुषलाई भत्ता वितरण, वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श, गर्भवतीका लागि मासिक एक हजार पौष्टिक भत्ता, ७० वर्षभन्दा माथिका व्यक्तिलाई घरघरमै वडाको प्रशासनिक सुविधा, शववाहन सुविधा र दुई हजार किरिया खर्चलगायत सुविधा दिँदै आएको छ ।
वडा कार्यालयले स्थानीयवासीका लागि प्रवाह गर्दै आइरहेका सुविधा उनीहरूको दैनिक जीवनसँग सम्बन्धित छन् । स्वरोजगार कार्यक्रमअन्तर्गत पुल्चोक, धोबीघाट र ज्वागलमा वडा खाद्यस्टोर, हाइजेनिक वार्ड मःम पसल, सुपथ मूल्य पसल, प्याकेट मसला बिक्री पसललगायत सञ्चालन गर्दै आइरहेको छ । यी पसलका सामनाको मूल्य निर्धारण पनि वडाले गर्छ । अन्य पसलमा भन्दा यहाँ कम मूल्यमा दैनिक आवश्यक खाद्यवस्तु बिक्री–वितरण गर्दै आइरहेको वडाध्यक्ष महर्जनले बताए ।
वडाले निःशुल्क विद्युतीय गाडी सुविधा, एकल पुरुष भत्ता (मासिक दुई हजार), ढल सफा गर्न जेट मेसिन, विपन्न परिवारका लागि धारा, बत्ती र निःशुल्क शिक्षा, एक व्यक्ति एक वडा स्वास्थ्य परिचयपत्र, वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श, गर्भवतीका लागि मासिक एक हजार रुपैयाँ (पौष्टिक भत्ताका लागि), ७० वर्षभन्दा माथिका व्यक्तिलाई घरघरमै वडाको प्रशासनिक सेवा  उपलव्ध गराउँदै आएको छ । यस्तै शववाहन सुविधा र दुई हजार किरिया खर्च, व्यक्तिगत घटना दर्ता (जन्म, विवाह, मृत्यु, बसाइँसराइ र सम्बन्धविच्छेद) गर्न आउँदा पाँच सय भत्ता, निदान, सुमेरु, मेघा, ब्लड अस्पतालमा १५ देखि २५ प्रतिशतसम्म छुट र आवश्यक पर्दा भाडामा सिसी क्यामरा प्रयोगलगायत सामग्री समेत दिने गरेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ५ : ०६ बजे