२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बागमती सफाइको पाँच सय हप्ता : २० हजार टन फोहाेर निकालियो



फाइल तस्बिर

२५ मंसिर ०७९, काठमाडौं ।  काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदी सफाइको पाँच सय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर बाग्मतीबाट करिब २० हजार टन फोहोर निकालिएको छ ।

विसं २०७२ जेठ ५ गते बाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाइ गरिँदै आएको छ । साप्ताहिकरुपमा यसरी सफाइ गर्दा पनि अत्यधिक फोहोर निकाल्ने गरिएको सफाइ महाअभियानले जनाएको छ । सफाइ महाअभियान सुरु भएको पाँच सय हप्ता पूरा हुँदा पनि बाग्मती पूर्णरुपमा सफा हुन सकेको छैन । सर्वसाधारणले बाग्मतीमा यसरी फोहोर फाल्ने हो भने जति सफाइ गरे पनि कहिल्यै सफा बन्दैन । फोहोर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

महाअभियान सुरु भएको साढे सात वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा बाग्मती नदीको फोहोर सङ्कलन गरेका छन् । स्वतःस्फूर्तरुपमा स्वयंसेवी अभियानमा सहभागी हुँदैआएका छन् । सफाइमा संलग्नलाई विभिन्न आरोप लगाउने काम भइरहेको अभियानकर्मी राम साह बताउँछन् ।

सफाइ महाअभियान चलेपछि नदी किनारमा करिब १० हजारभन्दा बढी बिरुवा रोपिएको छ । वृक्षरोपणका कारण नदी किनारमा हरियाली छाएको छ । जागरणमूलक बाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर मुलुकभर १०० भन्दा बढी स्थानमा सफाइ अभियान सुरु गरिएको छ । यसबाट नदीको सौन्दर्य बढेको साह बताउँछन् ।
सफाइ महाअभियानबाट नदी किनारको अतिक्रमित जग्गा फिर्ता गरिएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत बाग्मती नदी किनारको दायाँ बायाँ २७ किलोमिटर ढल निर्माण गरिएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको वाग्मती सौन्दर्यीकरण कार्यक्रम नदी किनारमा रहेका सुकुम्बासीका कारण प्रभावित भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ३ : ०६ बजे