१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा गाडी आवागमन रोकिने



२७ मंसिर ०७९,काठमाडौं ।  नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा गाडी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि गाडी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (मङ्गलवार) सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ ।

भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामका लागि गाडी आवागमन रोक्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुवाहक बस, मिनी, माइक्रो बस, साना गाडीलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी गाडीलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १० बजेर ५० मिनेटदेखि रोकिने छ ।

काठमाण्डाैतर्फबाट आउने यात्रुवाहक गाडीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक गाडीलाई बेनीटारदेखि पावर हाउससम्म बिहान १० बजेर ५५ मिनेटदेखि रोकिने भएको छ । यस्तै काठमाण्डाैतर्फबाट आउने मालवाहक गाडीलाई लेबाटारमा र पोखरातर्फबाट आउने मालवाहक गाडीलाई आँबुखैरहनीमा बिहान १० बजेर ४५ मिनेटदेखि रोक्ने बैठकले निर्णय गरेको छ ।

बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय गाडीलाई अनुकूलता हेरि छोड्ने निर्णय गरेको छ । यस्तै पोखरा–काठमाण्डाै सञ्चालन हुने गाडी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ । निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधन, स्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँ–ठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ५ : ४३ बजे