१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


तीनकुनेको पुल निर्माण अघि बढ्दै



केही समय अघि पप्पु निर्माण कन्स्ट्रक्सनले बनाएको पुलको संरचना ।

१ पुस ०७९, काठमाडौं । लामो समयसम्म रोकिएकोे तीनकुने पुल निर्माण अघि बढेको छ । पुरानो ठेक्का तोडेर गत साउनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएकामा अहिले निर्माण कम्पनीले डिजाइनको काम अघि बढाएको छ ।
साढे तीन वर्ष अवधिको सो ठेक्का निर्माणको पहिलो छ महिना ठेक्कामा लाग्ने र डिजाइन स्वीकृत भएपछि भौतिक काम गरिने काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ । निर्माण कम्पनीले पेस्की लगेको र डिजाइन गरिरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए । उनले भने, “डिजाइनका लागि काम गरिरहेको जानकारी कम्पनीले दिएको छ ।”
निर्माण कम्पनीले डिजाइन तयार गरेर पहिले आयोजनालाई दिने र उसले विभाग पठाएर स्वीकृत भएपछि काम हुने छ । बिजुलीबजारको पुलजस्तै यहाँको पुल आधुनिक प्रविधि ‘आर्क एन्ड ब्रिज’ निर्माण गर्न लागिएको हो ।
पहिलोपटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनः यो वर्ष नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले नै डिजाइन गर्ने गरी (डिजाइन एण्ड विल्ड) मार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

कूल ४२ महिनामा सक्ने गरी यसको ठेक्का वाइ÷पि÷किरातेश्वर जेभीलाई दिइएको छ । सो ठेक्काको रकम रु २४ करोड ५९ लाख ६७ हजार छ । यसअघि सो पुल निर्माणको काम पप्पु कन्स्ट्रक्सनले गरेको थियो । पहिले भएको काममध्ये दुवैतिरको पुलको केही भाग रहे पनि अधिकांश काम लागेको छैन ।
सरकारले दुई वर्ष पहिले पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेको थियो । निर्माण कम्पनीबाट जमानत जफत गरिसकिएको सूचना अधिकारी जोशीले बताए । नयाँ निर्माणका लागि कम्पनीले रकम बोहोर्नुपर्ने हुन्छ ।
सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको थियो । यसअघि निर्माण व्यवसायीले लापर्बाही गरेको भन्दै निर्माणको काम सुरु भएको केही समयमा नै रोकिएको थियो । सो कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो ।
पुरानो कम्पनीसँगको ठेक्का तोडेर नयाँ ठेक्कामा जान झण्डै एक वर्ष लाग्यो । ठेक्का तोडेपछि निर्माण कम्पनी अदालत गयो । अदालतको अन्तरिम आदेशका आधारमा तत्काल नयाँ ठेक्का हुन सकेको थिएन ।

सडक विभागले विसं २०७१ मा तीनकुने पुल र बिजुलीबजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारस्थित धोबीखोला पुल तीन वर्ष पहिले बनेर सञ्चालनमा छ । तीनकुने पुल पप्पु कन्स्ट्रक्सनसँग रु २१ करोडमा ठेक्का भएको थियो । लामो समय व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल उल्टै बनिसकेका संरचनासमेत भत्काएर नयाँ निर्माण गरिएको छ ।
यसअघि पुल निर्माणस्थलमा खानेपानी, विद्युत्लगायतका संरचना हटाउन समय लागेपनि अहिले त्यो समस्या हटिसकेको छ । निर्माण कम्पनीले काम सरासर गर्दा तोकिएको अवधिमा गर्नसक्ने प्रवक्ता जोशीले बताए । प्रतिनिसिभाअन्तर्गत विकास तथा प्रविधि समितिले पुल निर्माणमा समस्या देखिएको भन्दै त्यसलाई अघि नबढाउन र निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको थियो । जगको काम हुँदा नै समस्या भएकाले त्यो अघि बढ्न सकेको थिएन । निर्माण कम्पनीले डिजाइनअनुसार काम नगरेको भन्दै सडक विभागले त्यसलाई सच्याउन भने पनि उसले अटेर गरेकाले ठेक्का तोडिएको थियो । यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य भएपछि मात्रै नयाँ प्रक्रियामा जान बाटो खुलेको थियो ।
विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाले काठमाडौँको व्यस्त सडकमा भएको सवारी चाप कम गर्न र सहरको सुन्दरता बढाउन भन्दै ‘आर्क एन्ड ब्रिज’ निर्माण अघि बढाएको थियो ।
मुख्य सडकका दायाँबायाँ दुई–दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता गरियो । बिजुली बजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेर त्यहाँको सडक व्यवस्थापन सजिलो भएको छ । अरू सामान्य पुलमा तल्लो भागमा भएपनि यसमा भार माथिल्लो भागमा पर्नेछ । अरू पुलको तुलनामा यसको अवधि लामो हुने जनाइएको छ ।
काठमाडौँ उपत्यकाको सवारी चाप बढिरहेको सडकमा माइतीघर–कोटेश्वर सडक छ । एक दशक पहिले छ लेनमा सडक विस्तार भएको थियो । त्यतिबेला सडक मात्रै विस्तार भएकामा अहिले काठमाडौँका धोबीखोला र वाग्मती खोला पुलसँगै भक्तपुरमा पुल विस्तार अघि बढाइएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ९ : ०९ बजे