५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढायो, देउवा–गगन भिड्दै



४ पुस ०७९, काठमाडौं । पार्टीको विधानअनुसार नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको छ । कांग्रेसले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति बनाएको छ । कांग्रेसभित्र संसदीय दलको नेताका लागि सहमति हुने सम्भावना कम छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच चुनावी प्रतिस्पर्धा हुने अवस्था बढेको छ ।

दलको नेताका लागि रामचन्द्र पौडेल, प्रकाशमान सिंह पनि आकांक्षी हुन् । तर, मुख्य प्रतिस्पर्धा देउवा र थापाबीच नै हुने अवस्था बढेको छ । नेता शेखर कोइरालाले भने दलको नेतामा आफ्नो रणनीति खुलाएका छैनन् । उनी देउवासँग १४औं महाधिवेशमा मुख्य प्रतिस्पर्धी थिए ।दलको नेता चुन्न भोलि मतदान गर्ने गरी कांग्रेसले तयारी गरेको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति बनाएको हो । समितिको संयोजकको जिम्मेवारी सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई दिएको कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले जानकारी दिए ।

उनका अनुसार समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य तोकिएका छन् । प्रवक्ता महतले सकेसम्म दलको नेता सहमतिमा नै चयन गरिने नभए लोकतान्त्रिक ढंगबाट निर्वाचनको प्रक्रियामार्फत चयन गरिने जानकारी दिएका हुन् ।कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ । ती ८९ जना प्रतिनिधिसभा सदस्य नै दलको नेता छान्ने प्रक्रियामा सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १० : ०७ बजे