९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चिडियाखानामा अवलोकनकर्ताको चहलपहल बढ्यो



६ पुस ०७९, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा अवलोकनकर्ताको भीड लाग्न थालेको छ । कोरोना भाइरसका कारण जीवजनावरको अवलोकन गर्न नपाएका सर्वसाधारण अहिले उल्लेख्यरूपमा आउन थालेको व्यवस्थापन पक्षले जनाएको छ ।

चिडियाखाना व्यवस्थापन प्रमुख रचना साहका अनुसार कोरोना सुरु हुनुपूर्व दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म अवलोकनकर्ता चिडियाखाना आउने गरेका थिए । अहिले उक्त सङ्ख्या बढेर दैनिक चार हजारसम्म पुगेको छ । शुक्रबार विद्यार्थी बढी अवलोकन गर्न आउने हुँदा अन्य दिनमा भन्दा थप भीडभाड हुने गरेको छ ।

उहाँका अनुसार अवलोकनकर्ता बढेकै कारण विगत वर्षमा भन्दा यस वर्ष आम्दानीको लक्ष्यसमेत बढाएको छ । विगतका वर्षमा वार्षिक रु १४ देखि १६ करोड आम्दानी गर्दै आएको चिडियाखानाले यस वर्ष रु २० करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।
हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु सात सय ५०, सार्क देशका लागि रु पाँच सय, नेपालीलाई रु एक सय ५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ४७ बजे