११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन एक हप्ता प्रभावित



७ पुस ०७९, काठमाडौं ।  बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काम प्रभावित हुने भएको छ । यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो ।

शहरी विकास मन्त्रालयले फोहोरका गाडी आवतजावत् गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकालाई केही दिन फोहोरका गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागिएको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।

बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरका गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए । महानगरपालिकाले आज एक सूचना जारी गर्दै सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिकटन फोहोर निस्किने गर्दछ । निजी र कामपाका गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहोर लैजाने गरेकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण गरिएको छ ।

हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ३ : ५९ बजे