२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



१३ पुस ०७९, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्यांकन समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कोटहीमाई गाउँपालिका–१ दानव नदीको सिपवा नाकाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न टेन्डर प्रक्रियामा रकम बाँडेर टेण्डरको मूल्य घटाई ठेकेदारसँग आर्थिक लाभ लिई राज्यलाई हानिनोक्सानी गरेको भन्दै बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

दानव नदीको सिपवाघाट बालुवा उत्खनन्, संकलन तथा बिक्रीवितरण ठेक्का एआरके निर्माण सेवालाई प्राप्त गराउन नविन निर्माण सेवा, एआरके निर्माण सेवा र दुबेजी निर्माण सेवाका प्रोप्राइटरहरूले आपसमा मिलेमतो गरी भ्रष्टाचार गरेको आयोगको दाबी छ ।

तीन वटै निर्माण सेवाको बीओक्युनिरज श्रीवास्तव भन्ने जीवन श्रीवास्तवले भरी दर्ता गरे गराएको र तीन वटै निर्माण सेवाको बीओक्यूमा लेखिएका हस्तलिखित अंक र अक्षर आँखाले हेरी एउटै व्यक्तिले लेखेको छुट्याउन सकिने अवस्थामा पनि मिलेमतो गरी बोलपत्र मूल्यांकनमा अनियमितता गरेको पाइएको अख्तियारले जनाएको छ ।

बोलपत्र मूल्यांकन समितिले सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम बोलपत्र परीक्षण नगरी मूल्यांकन समितिका अध्यक्ष तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे, इन्जिनीयर मोहम्मद नुरुल हुसेन खाँ, एआरके निर्माण सेवाका प्रोप्राइटर कमलेशप्रसाद बर्मा (कोहार), नविन निर्माण सेवाका प्रोप्राइटर जयप्रकाश लाल श्रीवास्तव, दुबेजी निर्माण सेवाका प्रोप्राइटर अशोककुमार दुबे, निरज श्रीवास्तव भन्ने जीवन श्रीवास्तव र सन्दीप तिवारी भन्ने सन्दीपकुमार त्रिपाठीको मिलेमतोमा अनियमितता गरिएको अख्तियारले जनाएको छ ।

सबैभन्दा बढी कबोल अंक रहेको निर्माण सेवाको बीओक्यूबोलपत्र खोल्नुभन्दा अगाडिको अवधिमा परिवर्तन गराई एकभन्दा बढी व्यक्तिले अंक र अक्षर लेखी लेखाई बोलपत्रदाताको दस्तखत महलमा अर्कै दस्तखत गराई फर्मको छाप महलमा अर्कै छाप लगाइएको अभियोग पत्रमा उल्लेख छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरुले ४३ लाख ७० हजार रुपैयाँ राजस्व चुहावट गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको हो ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ५ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।