९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका सरकारी कार्यालयमा छड्के अभियान



१५ पुस ०७९, भक्तपुर । सेवाग्राहीलाई दिएको सेवा, सुविधा तथा कर्मचारीको नियमनका लागि जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयको छड्के अनुगमन अभियान शुरु गरेको छ । सरकारी कार्यालयबाट पाउने सेवाका बारेमा सेवाग्राहीको गुनासो बढ्दै गएपछि कर्मचारीको नियमित उपस्थिति र सेवाग्राहीको सेवा प्रवाहलाई सहज बनाउने उदेश्यले बिहीबारदेखि कार्यालयको छड्के अनुगमन अभियान शुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । प्रशासनले प्रशासकीय अधिकृत उर्मिला खतिवडाको नेतृत्वमा बिहीबार जिल्लाका विभिन्न कार्यालयको अनुगमन गरी सरकारी कार्यालयका सेवाका बारेमा जानकारी लिएको उनले बताइन् ।

प्रजिअ शर्माले भनिन्, ‘सरकारी तथा सार्वजनिक सेवा प्रवाहका क्रममा सेवाग्राहीले कुनै सास्ती भोग्न नपरोस् र सहजरुपमा सेवा प्रवाह होस् भन्ने हाम्रो उदेश्य हो, हामीले कार्यालय प्रमुखको मासिक बैठकमा पनि सेवा प्रवाह सहज बनाउन छलफल गरिरहेका हुन्छौँ, यद्यपि सेवाग्राहीको गुनासो भने आइरहेकै छ, त्यसैले सरकारी कार्यालयका सेवालाई प्रभावकारी र सहज बनाउन अनुगमनको अभियान नै थालनी गरेका छौँ, यसले सेवामा सुधार आउँछ भन्ने अपेक्षा लिएका छौँ ।’

कार्यालयले बिहीबारदेखि शुरु गरेको छड्के अनुगमनलाई निरन्तरता दिने जनाउँदै जिल्ला प्रशासन कार्यालयमै पनि सेवाग्राहीलाई सहज व्यवस्थापन गरेको र अन्य कार्यालयमा पनि सहज सेवा प्रवाह होस् भन्ने उदेश्य रहेको उनले बताइन् ।

कार्यालयले बिहीबार यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) मध्यपुर थिमि, यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी, भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलगायत सात वटा कार्यालयमा छड्के अनुगमन गरिएको उनले जानकारी दिइन् । प्रशासनको छड्के अनुगमनमा निर्धारित कार्यालय समयमा हाजिरी, पोशाक, हेल्पडेस्क, नागरिक वडापत्र, उजुरी पेटिका, पार्किङ व्यवस्थापन, सूचना अधिकारी व्यवस्था, सरसफाइ, अभिलेख व्यवस्थापन, जिन्सी निरीक्षण, सेवाग्राही प्रतिक्षालय, खानेपानीको व्यवस्थालगायतका विषयमा अनुगमन गरिएको छ ।

सबै कार्यालयमा सूचना अधिकारीको व्यवस्था, सेवाग्राहीलाई प्रतिक्षालयको व्यवस्था, उजुरी पेटिका राखेको, नागरिक वडापत्र राखेको, सरसफाइ रहेको, जिन्सी निरीक्षणलगायतका व्यवस्था भएको अनुगमनमा पाइएको उनले जानकारी दिइन् । छड्के अनुगमनमा निर्धारित समयमा कार्यालयमा हाजिर नभएका २७ कर्मचारी, पोशाक नलगाएका १२ कर्मचारी, कार्यालयमा विनासूचना अनुपस्थित भएका १८ कर्मचारीलाई कारणसहितको लिखित जवाफ दिन निर्देशन दिइएको प्रजिअ शर्माले जानकारी दिइन् । त्यस्तै सबै कार्यालयमा निजामती पोशाक अनिवार्य लगाउन, पार्किङलाई व्यवस्थित गर्न, हाजिरी अभिलेखलाई व्यवस्थित गर्न, सेवा प्रवाहलाई छिटोछरितो र प्रविधिमैत्री बनाउने गरी सुधार गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ५ : २९ बजे