३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

दोधरा चाँदनी 
१७ पुस । हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्लाको बेलौरी नगरपालिका् १ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न भारतको लखिमपुर, थाना मितौली ग्राम बस्ने राजु ईन्द्रसी, लखिमपुर तहसील मितौलीकका मुजिबा बञ्जरा र लखिमपुर तहसील पलियाका युसुफ अलीलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरूको साथबाट प्रहरीले सात राउण्ड गोली र एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिंह चौधरीले बताएका छन् ।
उनका अनुसार प्रक्राउ पर्ने नेपालमा आएर दिनमा गाउँघरमा साइकलमा विभिन्न सामान बिक्री गर्ने र गाउँघरको अवस्था बुझी राति समूह बनाएर लुटपाट गर्न आउने गरेको खुलेको छ । “पक्राउ परेका एक जना साइकलमा चुडी, बट्टन बिक्री गर्ने र अर्का फरार रहेका भैँसीका व्यापारी रहेको खुलेको छ”, चौधरीले भने, “व्यापार गर्न आउदा गाउँघरको अवस्था बुझ्ने र राति समूह बनाएर लुट्न आउने गरेको अनुसन्धानबाट खुलेको छ ।”

सीमा नाकास्थित विभिन्न गाउँमा राति हतियार देखाएर लुटपाट गर्ने घटना बढेपछि प्रहरीले सीमा नाकामा गस्ती बढाएको थियो । सोही गस्तीको बेला गत शुक्रबार राति उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । “पुस १६ गते बैलौरीको बैसाखा नाकामा गस्तीमा रहेको प्रहरी टोलीले तीन भारतीय नागरिकलाई रोकेर खानतलासी गर्न खोज्दा तीनै जना भागेर नजिकैको उखुबारीमा पसे”, प्रहरी प्रमुख चौधरीले भने, “प्रहरीले तत्कालै राजु ईन्द्रसीलाई नियन्त्रण लिएर उनको साथबाट चार राउण्ड ठलो गोली, दुई राउण्ड सानो गोली र एक थान लोड गरिएको कटुवा पेस्तोल बरामद गरेको हो ।” पछि अन्य दुईजना उखुबारीबाट पक्राउ परेका हुन् ।
उनका अनुसार उखुबारीमा लुकेर बसेका अन्य दुईजनालाई स्थानीयवासीको सहयोगमा करिब सात घण्टापछि नियन्त्रणमा लिएमा लिइएको थियो ।
प्रहरीले पक्राउ गरेकामध्ये राजु ईन्द्रसी लखिमपुरमा मोटरसाइकल चोरीको आरोपमा लखनौ जेलबाट आठ महिना कैद भुक्तान गरेर २० हजार जरिवानामा गत साता मात्रै छुटेका थिए । “लुटपाटमा संलग्न अन्य दुई फरार छन् । उनीहरूको भारतीय प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको छ”, प्रहरी प्रमुख चौधरीले भने, “दिनमा व्यापार गर्न नेपाल आउने र यहाँका अवस्था बुझेर राति समूहमा लुट्न आउने गरेको भेटिएको हो ।” उनले व्यापार गर्न आउने भारतीय नागरिकबाट सावधान हुन सबैलाई अनुरोध गरेका छन् ।

गत साता मात्रै कञ्चनपुरको बेलौरी नगरपालिका १ फटैयाका ललिता भट्ट र मनोच चौधरीको घरबाट नगद र गहना गरी आठ लाख बराबरको धनमाल चोरी भएको थियो । भट्टको घरमा महिला मात्र बस्ने थाहा पाएपछि भारतीय लुटेराको समूहले हँसिया, पेस्तोल र चक्कु देखाई लुटपाट गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १० : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।