९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपामा तीन दिन राष्ट्रिय भजन सम्मेलन



फाइल तस्विर

बनेपा
२१ पुस । बनेपामा तीन दिन राष्ट्रिय भजन सम्मेलन हुने भएको छ । शनिबार सुरु हुने सम्मेलनमा देशभरका एक सय २५ ज्ञानमाला भजन खलः सहभागी हुने नेपाल राष्ट्रिय ज्ञानमाला समितिले जनाएको छ ।
समितिले आफ्नो दशौँ राष्ट्रिय ज्ञानमाला भजन सम्मेलन ‘बुद्धको उपदेश अनुसरण गरौँ, चित्तलाई हामी परिशुद्ध गरौँ’ भन्ने मूल नाराका साथ बनेपामा सम्पन्न गर्न लागिएको केन्द्रीय अध्यक्ष रमना श्रेष्ठले बताएका छन् । सम्मेलनमा बुद्ध पूजा, पञ्चशील प्रार्थना, ज्ञानमाला शान्ति पदयात्रा, बृहत् ज्ञानमाला भजन कार्यक्रम, अभिनन्दन तथा ज्येष्ठ नागरिक सम्मानसँगै नयाँ कार्य समितिको चयनसमेत गरिने श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार शान्तिका प्रतीक भगवान् बुद्धद्वारा प्रतिपादन भएका सत्य, अहिंसा, मैत्री करुणा, शील समाधि, प्रज्ञाका जीवन उपयोगी अमूल्य शाश्वत उपदेशलाई सर्वव्यापक ढङ्गबाट उजागार गर्न तथा सम्प्रेषण गर्ने÷गराउने, आफूले बुझ्ने, अनुसरण गर्ने÷गराउने, सत्कार्यमा उन्मुख गराउने वाचन हुनेछ । काभ्रेपलाञ्चोकको बनेपामा वांख्य ज्ञानमाला भजन खलःले सम्मेलनको व्यवस्थापन गरेको हो ।

सम्मेलनमा ७५ भजन खलःले भजन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । भजनका लागि एउटा समूहमा छदेखि १० जना रहनेछन् । बनेपामा शान्ति पदयात्रा तथा झण्डोत्तोलन हुनेछ भने एक सय २५ भजन खलःका चार÷चार प्रतिनिधिको सम्मेलनमा सहभागिता रहनेछ । व्यवस्थापन समिति अध्यक्ष जगतनारायण मानन्धरले प्रतिनिधि व्यवस्थापन तथा सम्मेलनको तयारी सकिएको बताए । काभ्रेपलाञ्चोकमा छ वटा ज्ञानमाला खलः छन् ।
विसं १९९४ मा धम्मालोक भन्ते तथा अमृतानन्द भन्तेहरूले स्वयम्भूमा ज्ञानमाला भजन खलः स्थापना गरेर सुरु भएको अभियान देशभर फैलिएको छ । विसं २०५१ चैत १८ गते नेपाल राष्ट्रिय ज्ञानमाला समितिको स्थापना भएको हो ।
बदलिँदो समाज, युवापुस्ताहरूमा घट्दै गएको धर्म र संस्कृतिप्रतिको चाहनालाई बढावा दिँदै भगवान् बुद्धले बहुजन हिताय बहुजन सुखायको निम्ति देशना गरेका शील सदाचारयुक्त मानव कल्याणकारी धर्म तथा बुद्ध शिक्षालाई सहज, सशक्त तथा प्रभावकारी ढङ्गबाट जनमानसलाई प्रचारप्रसार गरेर समाजमा सुख, शान्ति कायम गर्ने ज्ञानमाला भजन खलःको प्रमुख उद्देश्य रहेको जनाइयो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ११ : ३९ बजे