९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महानगरले प्रहरीसँगको सहकार्यमा जडान गरेका १५८ वटा सीसीटिभी क्यामरा चालु



काठमाडौं, १८ माघ । काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको सहकार्यमा जडान गरिएका १६५ वटा सीसीटिभी क्यामरामध्ये अहिले १५८ वटा चालु आवस्थामा छन् । राखिएकामध्ये सडक विस्तारका क्रममा ७ वटा प्रयोग विहिन भए । उपत्यका प्रहरी कार्यालय रानीपोखरीकाअनुसार  उपत्यकामा भएका ३ हजार २३१ सीसीटिभी क्यामरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुन्छ ।

सहकार्यमा जडान भएका सीसीटिभी क्यामराको प्रयोग कसरी भइरहेको छ? जानकारी लिनका लागि मंगलबार महानगरका प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजकसहित पदाधिकारी उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुगेको थियो । त्यस क्रममा प्रहरी उपरीक्षक कृष्णबहादुर धितालले, सहकार्यबाट जडान भएका सीसीटिभी क्यामराका विषयमा जानकारी गराउनुभएको हो ।

त्यस क्रममा सीसीटिभी कन्ट्रोल रुम, सर्भर कक्ष, भिडियो वाल, प्रहरी सहयोगका लागि गरिने आकस्मिक फोन १०० (कल सेन्टर) सञ्चालन व्यवस्थापन अनलोकन गरिएको थियो ।

सीसीटिभीबाट सहरी गतिविधिको निगरानीका विषयमा जानकारी लिइसकेपछि प्रवक्ता मानन्धरले, शान्ति सुरक्षा र सहरी व्यवस्थापनका कोणबाट सीसीटिभी जडान गरिनुपर्ने बताउनुभयो । ‘शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग सहकार्य जारी रहन्छ । यहाँ प्राप्त हुने दृश्य अनुसन्धानका लागि प्रयोग हुन्छन् । व्यक्तिको गोपनीयतासँग जोडिएका हुन्छन् । यसको सञ्चालन व्यवस्थापन प्रहरीसँगै उपयुक्त हुन्छ ।’ प्रवक्ताले थप्दै भन्नुभयो, ’फोहोर व्यवस्थापन, निर्माण सामग्रीको प्रयोगजस्ता कतिपय सहरी व्यवस्थापनका क्रियाकलापसँग सम्बन्धित दृश्य वडा समितिको पहुँच हुने बनाउनु पर्छ । सहकार्यमा यस्ता विषयलाई स्पष्ट पारेर अगाडि बढौँ ।’

उपत्यकामा भएका ३ हजार २३१ सीसीटिभी क्यामरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी 

प्रहरी कक्षबाट सञ्चालित सीसीटिभीका विषयमा जानकारी गराउँदै प्रहरी उपरीक्षक धितालले भन्नुभयो, ‘हामीले घटनालाई बर्गीकरण गरेर राखेका छौँ । घटनासँग सम्बन्धित दृश्यहरु समस्या समाधानका लागि उपलब्ध गराउने गरेका पनि छौँ । सवारी दुर्घटना, सामान छुटेको हराएको, चोरी भएको, लुटपाट भएको, सवारी साधन हराएको, मानिस हराएको जस्ता विषयमा हामीलाई दृश्य माग हुने गरेका छन् । प्रचलित कानुनले उपलब्ध गराउन मिल्ने खालका दृश्य हामी सम्बन्धितलाई उपलब्ध गराउँछौँ ।’

यसरी उपलब्ध गराइएका दृश्यले प्रहरीमा प्राप्त भएका उजुरीमध्ये ६१ प्रतिशत विवाद सुल्झिएको प्रहरी उपरीक्षक धितालको भनाइ छ ।

निरीक्षणका क्रममा सूचना प्रविधि समितिका सदस्य एवं वडा १९ का अध्यक्ष राजेश श्रेष्ठ, समितिका सदस्य सचिव एवं सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाललगायत अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

२०७५ माघ २५ गते बसेको नगर कार्यपालिकाको बैठकले सहरमा शान्ति सुरक्षा कायम गर्न तथा सहरी व्यवस्थापनका क्रियाकलापमा निगरानी गर्नका लागि सीसीटिभी क्यामरा जडान, सञ्चालन, मर्मत सम्भार र सूचनाको उपयोग गर्ने प्रणालीका लागि नेपाल प्रहरीसँग सहकार्य गर्ने निर्णय गरेको थियो । यही निर्णयका आधारमा २०७५ फागुन १५ गते सम्झौता गरेर महानगरका तत्कालीन प्रमुख बिद्यासुन्दर शाक्यले नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल ३ करोड रुपैयाँको चेक प्रदान गर्नुभएको थियो ।

सहकार्यको मूख्य लक्ष्य महानगरको भौगोलिक क्षेत्रभित्र शान्ति सुरक्षा, अमनचयन, पारदर्शी सहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण जस्ता अनधिकृत क्रियाकलाप माथि नियन्त्रण गर्नु हो । प्रदुषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा सांस्कृतिक एवं सम्पदा क्षेत्रहरुको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालीन आवागमन व्यवस्थापन, ट्राफिक जाम जस्ता सहरी आचरणको निगरानी गर्नु मूख्य काम हो ।

प्रहरीमा आ. व. २०७८/०७९ मा सीसीटिभी फुटेज माग गर्दै २ हजार १७६ वटा निवेदन प्राप्त भएका थिए । जसमध्ये १ हजार २६४ निवेदकलाई फुटेज उपलब्ध गराइएको थियो ।

सीसीटिभी फुटेजबाट ट्राफिक लेन, फिल्ड अनुशासन कायम नगरेका २ हजार ५६५ जनालाई कारवाही गरिएको थियो ।

नेपाल प्रहरीले वि. सं. २०६३ सालमा ११ वटा एनालग सीसीटिभी क्यामेरा राखेर निगरानी सुरु गरेको हो । २०७१ साल १८ औँ सार्क शिखर सम्मेलनका समयमा २०३ वटा आइपी बेस क्यामरा थप गरिएको थियो ।

सीसीटिभी क्यामरा जडान तथा सञ्चालनका लागि गृह मन्त्रालयले २०७२ कार्तिक २५ गते मन्त्री स्तरीय निर्णयबाट कार्यविधि जारी गरेको छ । यो कार्यविधि २०७५ माघ २४ गते सशोधन भएको छ । कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउँदै मानवीय सुरक्षा, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा गर्न उपकरण र प्रविधिको आवश्यकता देखिए पछि यो कार्यविधि तर्जुमा गरिएको हो । कार्यविधिले सीसीटिभीलाई सार्वजनिक क्षेत्र, व्यापारिक प्रयोजन र निजी प्रयोजन गरी ३ प्रकारमा बर्गीकरण गरेको छ ।

कार्यविधिले होटलका कोठा, शौचालय, कपडा फेर्ने कोठामा सीसीटिभी राख्न नहुने, व्यक्तिको मानव अधिकार उल्लङ्घन हुने गरी वा स्वतन्त्रपूर्वक हिँड्न पाउने अधिकारमा असर पर्ने गरी क्यामरा जडान गर्न नहुने भनेको छ । यसबाट प्राप्त फुटेज ३ महिनासम्म भण्डारण गर्नु पर्ने र संग्रहित फुटेज गोप्य राख्नु पर्ने कार्यविधिमा उल्लेख छ । व्यापारिक तथा निजी प्रयोजनका लागि जडान हुने सीसीटिभी क्यामरा सम्बन्धी विवरण नजिकको प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनु पर्ने प्रबन्ध कार्यविधिमा गरिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ५ : १८ बजे