८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेपाली सेनाको राजधानीमा खुला दौड प्रतियोगिता, जित्नेलाई ३ लाख पुरस्कार




काठमाडौं
२८ माघ । राजधानीमा आज खुला दौड प्रतियोगिता सुरु भएको छ । ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर, पेप्सीकोला, गौशला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु तीन लाख पाउनेछ । द्वितीय र तृतीय हुनेलाई क्रमशः, दुई लाख र एक लाख नगद प्रदान गरिने बताइएको छ ।
प्रतियोगितामा तीन सय धावक सहभागी छन् । प्रतियोगिताअन्तर्गत २१ किमी हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष धावकलाई क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सात सय ५० धावक सहभागी छन् ।
सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता आजसुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका छन् । प्रतियोगितामा विभिन्न विधाका लागि कायम गरिएको दौडको दूरी पार गरेपछि सोही स्थानमा आएर समापन हुनेछ । सेनाले विसं २०७२ देखि स्थापना दिवसका अवसरमा यो प्रतियोगिता गर्दै आएको छ ।
उक्त प्रतियोगिताअन्तर्गत आयोजना गरिएको पाँच किमीको वाकाथनमा प्रधानसेनापति शर्मा पनि सहभागी छन् । उक्त वाकाथनमा सेनाका उच्च अधिकृतका साथै समाजमा विभिन्न पेसा व्यवसायसँग सम्बन्धित व्यक्ति सहभागी भएको बताइएको छ ।
सैनिक सहचारी र सेनाका महाविद्यालयमा अध्ययनरत छात्रछात्रा सम्मिलित १० किमी दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु १० हजार, सात हजार र पाँच हजार नगर प्रदान गरिने सेनाले जनाएको छ । प्रतियोगितामा पाँच सय धावक सहभागी छन् । नेपाली सेनाले यस पटक आफ्नो स्थापनाको २६० औँ स्थापना दिवस मनाउने क्रममा छ । सेनाले हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : ५१ बजे