
काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालका राजनीतिक दलहरू र राजसंस्थाबीच सहकार्यका लागि विलम्ब गर्न नहुने बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपालको निरन्तर अधोगतितर्फ मौन रहन नसकिने उल्लेख गर्दै राजसंस्था र दलहरू सहकार्य गर्नपर्ने बताएका हुन्।
‘नेपालको अत्यधिक बहुसङ्ख्यक जनताले चाहेको निर्णय स्विकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो। शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामीले सम्यमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ’, उनले शुभकामना सन्देशमा भनेका छन्, ‘तर नेपालको निरन्तर अधोगति प्रति अब हामी मौन रहन सक्दैनौँ । यी यावत वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ। अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।’
विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा देश फसेको उनले टिप्पणी गरेका छन्।









प्रतिक्रिया