११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मातातीर्थ क्षेत्रका तस्वीर प्रदर्शनी हुँदै



काठमाडौं
२५ फागुन । प्रसिद्ध तीर्थस्थल मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरको प्रदर्शनी हुने भएको छ ।
आगामी चैत ३ गते शुक्रबार चन्द्रागिरि नगरपालिका ८ मातातीर्थस्थित वडा कार्यालय हातामा हुने सो प्रदर्शनीमा मुख्य गरी क्यानेडियन नागरिक लियो गौलेटले सन् १९७३ ताका सो क्षेत्रमा कैद गर्नुभएका तस्बिरको समावेश हुने छ ।
गौलेट पहिलोपटक मातातीर्थ क्षेत्रमा आइपुग्नुभएको ५० वर्ष पुगेको अवसर पारेर उनीसँगको अन्तक्रियात्मक कार्यक्रमसहित एकदिने फोटो प्रदर्शनी आयोजना गरिने कार्यक्रम संयोजक जीवन नेपालले जानकारी दिए ।
प्रदर्शनीमा चन्द्रागिरि नगर क्षेत्रका अन्य पुराना चित्र तथा तस्बिरसमेत समावेश हुनेछन् । तत्कालीन प्रधानमन्त्री माथवरसिंह थापाका पालामा विसंं १९०१ सालमा नेपाल भ्रमणमा आएका तत्कालीन पर्सियाका राजकुमार फ्रेडरिक विल्हेम वाल्डेमारले थानकोट क्षेत्रमा कोरेका चित्र पनि प्रदर्शनीमा समावेश गरिने संयोजक नेपालले बताए ।
क्यानेडियन नागरिक लियो संयुक्त राष्ट्रसङ्घीय मिसनमा कार्यरत रहँदा पहिलोपटक सन् १९७३ मा मातातीर्थमा आएका थिए । प्रदर्शनीमा राखिने एक सय ७६ तस्बिरमध्ये ४२ तस्बिर पहिले र अहिले शीर्षकमा समावेश गरिने बताइएको छ । पाँच दशकअघि र अहिलेको गाउँघरमा कस्तो परिवर्तन आयो भन्ने विषयको अध्ययनका लागि प्रदर्शनी फलदायी हुने अपेक्षासहित प्रदर्शनी आयोजना गर्न लागिएको चन्द्रागिरि नगरपालिका वडा नं ८ का अध्यक्ष प्रल्हाद रिजालले बताए । प्रदर्शनीमा समावेश हुने सबै तस्बिरहरू नेपालका पुराना तस्बिर सङ्कलन गर्ने संस्था फोटो म्युजियम नेपालले उपलब्ध गराएको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ८ : २५ बजे