१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेद्वारा रासायनिक मलमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग



५ चैत्र । नेकपा (एमाले) ले सरकारसँग रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । आज एमालेको कृषि तथा पशुपन्छी विकास विभागले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारसँग रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।
उनले अन्तर्राष्ट्रियरूपमा रासायनिक मलको मूल्य घटिरहेको बेला नेपालमा भने बढाउनु अनुचित रहेको बताएका छन् । सरकारले रासायनिक मलको मूल्यवृद्धिले कृषि क्षेत्रलाई कमजोर बनाउन खोजेको उनको भनाइ थियो ।
“मलको मूल्य बढाएर सरकारले कृषि क्षेत्रलाई निरुत्साहित गर्ने नीति लिएको देखिन्छ”, उनले भने, “मलको मूल्यवृद्धि अविलम्ब फिर्ता लिनुपर्दछ । स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न सरकारले जोड दिनुपर्दछ ।” मलको अभाव खेपिरहेका किसानलाई थप समस्यामा पार्ने गरी गरिएको निर्णय गैरजिम्मेवारपूर्ण रहेको उनको भनाइ छ ।
कार्यक्रममा विभागका प्रमुख गिरधारीलाल न्यौपानेले रासायनिक मलमा दिइँदै आएको अनुदानसमेत कटौती गरेर मलमा अस्वाभाविक मूल्यवृद्धिले खाद्यान्न आयातमा सरकारले प्रोत्साहन गर्न खोजेको बताए ।
“सरकारको निर्णयानुसार युरियामा प्रतिकेजी रु ११, डिएपीमा रु सात र पोटासमा रु नौ ले मूल्यपृद्धि भएको छ । यसको प्रत्यक्ष मार नेपालमा कडा परिश्रम गरिरहेका नेपाली किसान र आम उपभोक्तामा पर्न गएको छ”, उनले भने, “एकातिर भारतबाट ठूलो मात्रामा कृषि उपजको आयात हुने र अर्कोतिर रासायनिक मलको मूल्यवृद्धि गरी उत्पादन लागत झन् बढाई उत्पादन लागतमा थप वृद्धि हुन पुगेको छ ।”
मूल्यवृद्धिले किसानहरू उत्पादन कार्यबाट विमुख हुने र अत्यधिक उत्पादन लागतका कारणले देशको राष्ट्रिय उत्पादनमा नकारात्मक असर पर्न गई आम श्रमजीवी जनता खाद्य सुरक्षा तथा खाद्य अधिकारबाट वञ्चित हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ५ : ५३ बजे