१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपतिमा वत्सलेश्वरी जात्रा समापन



काठमाडौँ १० चैत ।  मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ ।

आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट फागुन ३० गते शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ । पशुपति क्षेत्रभर घुमाएपछि बिहीबार राति जात्रा सकिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए ।

चैत्र कृष्ण अष्टमीका दिन फागुन ३० गते पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गरेका थिए । योत्रामा यसरी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ । उपत्यकाका देवदेवीलाई निमन्त्रणा गरेपछि देशोद्वार पूजासमेत भनिने यो जात्रा शुरु भएको थियो ।

जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको हो । चैत्र शुक्ल द्वितीयाका दिन बिहीबार राति सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिएको हो । एघार दिनसम्म चल्ने यो जात्रा पशुपति क्षेत्रका लामो जात्रामध्येको एक हो ।

मुलुकमा शान्ति होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ ।

देशोद्धार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरूपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरुपमा सहभागी हुने गरेको उनले सुनाए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : ०८ बजे