६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खानेपानीमा गन्ध आएपछि ट्याङ्कीमा भेटियो मान्छेको शव



१२ चैत्र । तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा मान्छेको शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो ।

घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिएका छन् ।

“दुई÷तीन दिन अगाडिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो, आज बिहान ट्याङ्कीको ढकन खोलेर हेर्दा शव देख्यौँ”, मल्लले भने । पृथ्वीराजमार्ग विस्तारका क्रममा सडक छेउका पानीका पाइप पटकपटक काटिने गरेकाले सोही कारण पानी धमिलो आएको हो कि भन्ने शङ्का आफूलाई भएको उनले बताएका छन् ।

“दैनिकजसो पाइप काटिन्छ, त्यसैले पानीमा केही गन्ध आयो कि भन्ने लागेको थियो, तर अलि बढी नै भएपछि ट्याङ्की हेरौँ न त भनेर आज दुई जना भएर ढकन खोलेर हेर्दा शव देखेपछि हामी नै झसङ्ग भयौँ”, मल्लले भने ।

उनले उक्त शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुनसक्ने देखिएको जानकारी दिए । “ढक्कन खोल्दा सुरुमा कपाल जस्तो देख्यौँ, पछि कपडा पनि देख्यौँ, तत्कालै प्रहरीलाई खबर गरेर बोलायौँ”, उनले भने । उपभोक्ता समितिले मनहरिका एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले पानी ट्याङ्कीमा शव फेला परेको जानकारी दिँदै अनुसन्धान सुरु गरिएको बताए । “प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु भइसकेको छ, मृतकको नामथर वतन खुलेको छैन”, उनले भने ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ७ : ५९ बजे