२४ चैत्र । भक्तपुरको थिमीमा सधै जात्राको अवधिमा इन्टरनेटको तारले अवरोध गरेपछि नगरपालिकाले दिर्घकालीन समाधान गर्न अनुरोध गरेको छ । जात्राको समयमा सधै टाउको दुखाई हुने सडकको विद्युत र इन्टरनेटको तार हटाउनका लागि नगरपालिकाको संयोजनमा विभिन्न केवुल, इन्टरनेट र दूरसञ्चार प्रदायक कम्पनी, विद्युत् प्राधिकरणसहितको टोली गठन गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । टोलीले भने आजैबाट तार हटाउन थालेको छ ।
इन्टरनेट कम्पनीका अव्यवस्थित तारले जात्रालाई अवरोध पु¥याउने र जात्रामा हुने रथहरूको छत्र नै बिगार्दा लाखौँको नोक्सान हुने भएकाले तत्काल त्यस्ता तार व्यवस्थापन गर्न इन्टरनेट तथा केबुल नेटवर्कका सञ्चालकलाई निर्देशन दिएका छन् ।
टोलटोलका खम्बामा झोलिएका तारले नगरलाई कुरुप बनाएको, पैदलयात्री र मोटरसाइकल तारमा अल्झेर दुर्घटनामा परेको र जात्रालाई यस्ता तारले अवरोध पु¥याएको भन्दै उनले दीर्घकालीनरूपमा समाधान हुने गरी तार व्यवस्थापन गर्न आह्वान गरे ।
नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गराउन र तीन दिन, तीन रातसम्म खटमा हुने देवताका मूर्तिमा रहने बहुमूल्य गहनाको सुरक्षाका लागि सुरक्षा निकायले व्यवस्थापन गर्न आग्रह गरेको बताए ।
मध्यपुरथिमि नगरपालिकाले तीन दिन भव्यरूपमा मनाइने जात्रालाई शान्तिपूर्ण र व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको छ । नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जात्रा अवधिभर खानेपानी र विद्युत्को आपूर्ति नियमित हुने व्यवस्था गर्न सम्बन्धित कार्यालयका प्रमुखहरूलाई कार्यक्रममै आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन
भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारीबारेमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्व, सहायक प्रजिअ माधवप्रसाद शर्मा, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वली, जात्रा व्यवस्थापन समितिलगायत जात्रासँग सम्बन्धित सरोकारवाला व्यक्तित्वहरूको सहभागितामा अनुगमन गरिएको हो ।
अनुगमनमा जात्राका लागि भैरव, भद्रकालीको रथ निर्माणको अवस्था, जात्राका लागि आवश्यक सामग्रीको अवस्था, लिङ्गो उठाउने ठाउँ ल्यासिंखेल र लिङ्गोको अवस्था, जात्राको तयारी एवं जात्राको रुटको अवस्थाका बारेमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिएका छन् ।
जात्रा सञ्चालनका रुटमा रहेका निर्माण सामग्री हटाउन, जात्राको रूटमा रहेका विभिन्न इन्टरनेट तथा केबुल टिभीका लत्रिएका तार व्यवस्थित गर्न, जात्रा अवधिभर विद्युत् आपूर्ति नरोक्न, जात्रा अवधिभर खानेपानीको वितरण नियमित गर्न, अस्पताललाई तयारी अवस्थामा रहन, सिसी क्यामरा व्यवस्थित गर्न सरोकारवाला सबैलाई निर्देशन दिएको उनले जानकारी दिए । यस वर्ष ढुङ्गा नहानी जात्रालाई शान्तिपूर्णरूपमा हर्षोल्लासका साथ सम्पन्न गर्न÷गराउन आवश्यक तयारी गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया