काठमाडौं, २४ चैत । चक्रपथको दास्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ । सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ ।
चक्रपथको सो खण्ड विस्तारका लागि सडक विभागले केही वर्ष पहिलेदेखि निर्माणस्थल खाली गराउन लागे पनि कोभिड सङ्क्रमणका कारण चिनियाँ पक्ष आएको थिएन । अहिले अवस्था सामान्य हुँदै जाँदा काम अघि बढाउन चाहेको विभागले जनाएको छ ।
उनीहरू आएर काम गर्न खाजेको र दुई पटक स्थलगत भ्रमण पनि गरेको विभागका विकास सहायता समन्वय महाशाखा प्रमुख डा विजय जैसीले बताए । पहिले पूर्वसम्भाव्यता अध्ययन गरेर काम कसरी गर्ने भनी छलफल गरिरहेको उनले जानकारी गराए ।
चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलङ्की सडक विस्तार गरिएको थियो । सो सडकमा निर्माणस्थल खाली नगर्दै काम सुरु गरिएकाले विस्तारका क्रममा धेरै समस्या आएको थियो । त्यही अनुभवका आधारमा चिनियाँ पक्षले पहिले निर्माणस्थल खाली भएपछि मात्रै निर्माण सुरु गर्न सरकालाई भनेको थियो । निर्माणस्थल खाली गराउँदा धेरै समस्या व्यहोर्नुपरेको विभागले जनाएको छ ।
प्रतिक्रिया